काठमाडौं । युएफा युरोपा लिग अन्तर्गत गए रातिको खेलमा म्यानचेस्टर युनाइटेडले रेन्जर्स विरुद्ध २-१ गोलको जित दर्ता गरेको छ । गएरातिको जितसँगै सात खेलबाट १५ अंक बनाएको युनाइटेड अंक तालिकाको चौथो स्थानमा पुगेको छ । लिगमा युनाइटेड अहिलेसम्म अपराजित छ ।
गए राति ओल्ड ट्राफोर्ड रंगशालामा भएको खेलमा युनाइटेडले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । खेलको २२ औं मिनेटमा डालोटले गोल गरेका थिए । तर रेफ्रीले भीएआरको लामो रिभ्यूबाट उनको गोललाई मान्यता दिएनन् ।
तर दोस्रो हाफको ५२ औं मिनेटमा रेन्जर्स गोलकिपरकै गल्तीको कारण गोल बेहोर्न बाध्य भयो । क्रिस्टियन इरिक्सनको कर्नर बल रोक्ने प्रयासमा ज्याक बुटल्यान्डले आत्मघाती गोल गरे । बल उनको हातमा लागेर पोस्टमा छिरेको थियो । खेलको ८० औं मिनेटमा कप्तान ब्रुनो फरनान्डिसको फ्रि किकमा लेनी योरोले शानदार हेडर गरेका थिए । तर उनको प्रहार गोलकिपरले उत्कृष्ट बचाउन गरे । यससँगै खेलमा युनाइटेडले एक गोलको अग्रता बनाएको हो । तर ८८ औं मिनेटमा खेल अर्को निर्णायक मोडमा पुगेको थियो । यतिबेला, रेन्जर्सका क्रिसेल डेरसर्सले गोल गरेका थिए । उनले ह्यारी मग्वायरलाई झुक्याउँदै अफसाइट ट्राप बिट गोल गरेका हुन् ।
यससँगै खेल एक एक गोलको बराबरीको अवस्थामा पुगेको थियो । तर इन्ज्युरी समयको खेलको नतिजा एकाएक परिवर्तन भयो । ब्रुनो फरनान्डेसले गोल गरेर युनाइटेडलाई २-१ को अग्रता दिलाए । लिसान्द्रो मार्टिनेजको पासमा भएको गोलसँगै युनाइटेड विजयी भएको हो । फरानान्डेसले गोल गर्दासम्म रेन्जर्सका समर्थकले अघिल्लो इक्वालाइजर गोलको सेलिब्रेसन सकेकै थिएनन् । तर पोर्चुगिज मिडफिल्डरले पाहुना टिमका समर्थकलाई धेरै खुशी हुन दिएनन् । युरोपा लिगमा युनाइटेडेको यो चौथो जित हो । उसले सात खेलमध्येका तीन खेलमा बराबरी गरेको थियो ।