काठमाडौं । संकटा क्लब पहिलो संस्करणको सभापति कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा चर्च बोइज क्लबलाई ३-० गोलले हराउँदै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
संकटालाई जित दिलाउन अबेका रिचर्ड, अबयोमी फकुन्लेल र चन्दनकुमार दासले गोल गरे । खेलको २१ औं मिनेटमा नै अबेका रिचर्डले गोल गरेर संकटालाई ब्रेकथ्रू दिलाएका थिए । उनलाई गोलका लागि अबोयामी बोटेङले लामो पास दिएका थिए ।
रिचर्डले डिफेन्डर अनन्तलाई छक्याउँदै पहिलो गोल गरे । खेलको ५६ औं मिनेटमा संकटाका अबयोमी फकुन्लेलले पोस्टअघिबाट गोल सही दिशामा प्रहार गर्न सकेनन्। खेलको ६५ औं मिनेटमा रोहन कार्कीको प्रहार गोलकिपर दिप कार्कीले बचाउँदा चर्च बोइज अर्को गोलबाट जोगिएको थियो। ७० औं मिनेटमा श्रीजलले बायाँ साइडबाट उत्कृष्ट क्रस गरेपछि घानाका अबयोमी फकुन्लेलले कटब्याकमा गोल गरेका थिए।
उनको प्रहार दिपको हातमा लागेरै पोस्टमा छिरेको थियो। दोस्रो गोलको तीन मिनेटमा नै संकटाले अर्को गोल थप्यो। यसपटक चन्दन कुमार दाशले गोल गरेका थिए। गोलकिपर दिप कार्कीले श्रीजनको क्रसको सानदार बचाउ गरे पनि रिबाउन्ड बल जोगाउन नसक्दा चन्दन गोलमा सफल भएका हुन्।
आजको जितसँगै संकटाले सेमिफाइनलमा स्थान बनाएको छ। उसले अब सेमिफाइनलमा मछिन्द्र क्लब र एपिएफ क्लबबीचको खेलको विजेतासँग खेल्नेछ। मछिन्द्र र एपिएफबीचको खेल भोलि साँझ साढे ५ बजे हुनेछ। भोलिदेखि सबै खेल साढे ५ बजे नै हुनेछ। खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडीबाट भइरहेको छ ।