काठमाडौं । आईसीसी महिला यू-१९ टी ट्वेन्टी विश्वकपमा नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ । वाइएसडी यूकेएम क्रिकेट ओभलमा खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजेबाट सुरू हुनेछ ।
आफ्नो पहिलो खेलमा पराजित दुवै टोली पुनरागमनको प्रयासमा हुनेछन् । नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । सो खेलमा बंगलादेशले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले सुरू ब्याटिङ गरेको थियो । १८ ओभर २ बल मात्र पिचमा टिक्न सकेको नेपालले केवल ५२ रन बनाएको थियो ।
सो खेलमा नेपालको ‘रनिङ बिट्विन द विकेट’ निकै खराब रहँदा ५ खेलाडी रन आउट भएका थिए । जवाफमा नेपालले राम्रो बलिङ गरे पनि ५२ रनको सामान्य योगफल रक्षा गर्न पर्याप्त भएन ।
टिमले आज अघिल्लो खेलमा गरेका गल्ती सुधार्न आवश्यक छ । प्रशिक्षक महेश रिजालले कप्तान पूजा महतोबाट राम्रो प्रदर्शनको अपेक्षा गरेका छन् । उपकप्तान सोनी पाख्रिन पनि चल्नु आवश्यक छ । समूहको अन्तिम खेलमा नेपालले अस्ट्रेलियासँग खेल्नु पर्ने हुँदा यो खेलमा हार बेहोरे नेपाल बाहिरिने खतरा रहेको छ ।
अर्को तर्फ स्कटल्यान्ड, अस्ट्रेलियासँग ९ विकेटले पराजित भएको थियो । ५९ रनमा अलआउट भएको स्कटल्यान्डलाई पराजित गर्ने क्रममा अस्ट्रेलियाले १५ ओभर १ बलमा केवल १ विकेट गुमाएको थियो । पुनरागमनको प्रयासमा रहेका दुई टोली पहिलो पटक एकअर्का विरुद्ध मैदान उत्रिन लागेका हुन् ।
समूह ‘डी’मा दुवै टोली अंकविहीन छन् । नेपाल नेट रन रेटको आधारमा तेस्रो र स्कटल्यान्ड पुछारमा छ । २ अंक सहित अस्ट्रेलिया शीर्ष स्थानमा छ भने समान अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ ।
हरेक समूहबाट तीन टोली सुपर सिक्समा प्रवेश गर्ने हुँदा यस खेलमा जित हात पार्ने टोली अघिल्लो चरणमा पुग्ने सम्भावना उच्च हुनेछ । विश्वकपमा यस बाहेक आज अन्य ५ खेल पनि हुँदै छ ।