काठमाडौं । ललितपुर महानगरपालिकाका बासिन्दाले महानगर नेतृत्वले समान रुपमा विकासको प्रत्याभूति दिलाउन नसकेको गुनासो गरेका छन् ।
कान्तिपुर टेलिभिजनको कार्यक्रम 'महानगर महाबहस'मा सहभागीहरूले शिक्षा, स्वास्थ्य तथा विकासका पूर्वाधार निर्माणमा महानगर चक्रपथभित्र मात्र केन्द्रित भएको आरोप लगाएका हुन् ।
चक्रपथ बाहिरको क्षेत्रलाई महानगर नेतृत्वले बेवास्ता गरेको उनीहरुको गुनासो छ । ‘शिक्षा, स्वास्थ्य तथा पूर्वधार निर्माणमा सबै वडालाई उत्तिकै प्राथमिकतामा राख्नु पर्छ, तर त्यसो देखिँदैन । मेयर साब तपाईं मंगलबजारको मात्र मेयर हो ?,’ कार्यक्रममा सहभागि ललितपुर महानगरपालिका ४ का उपप्राध्यापक सफला पोखरेलले प्रश्न गर्नुभयो । महानगर प्रमुख चिरिबाबु महर्जनले भने प्राथमिकता निर्धारण गरेर काम गरिरहेको दाबी गर्नुभयो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उपमहानगरपालिका हुँदा नै पूर्वाधारका क्षेत्रमा धेरै काम भएको बताउनुभयो । महानगरपालिकामा गाभिएका चक्रपथबाहिरका क्षेत्रमा पनि प्राथमिकता निर्धारण गरेरै काम गरिरहेको दाबी गर्नुभयो ।
यसैगरि ललितपुरको खोकनाका एक विद्यार्थीले सामुदायक विद्यालयहरूमा पानिको हाहाकार रहेको भन्दै स्कुलमा पानिको जार बोकेर जानुपर्ने बाध्यता सुनाउनु भयो ।
महानगर प्रमुख महर्जनले सार्वजनिक खरिद ऐन २०६३ लाई तत्काल संघीय सरकारले परिवर्तन नगरे विकासको बाधक त्यहीँ हुने बताउनुभयो । उहाँले महानगरको समग्र विकासका लागि स्थानीयबासी तथा सरोकारवालालाई सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रम ‘महानगर महाबहस’ अहिले कान्तिपुर टेलिभिजनमा प्रसारण भइरहेको छ । साथै कार्यक्रम कान्तिपुर टेलिभिजनको युट्युब च्यानल र Kantipur TV App मा पनि हेर्न सकिनेछ।