काठमाडौं । बार्सिलोना कोपा डेल रेको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गए राति सम्पन्न अन्तिम-१६ को खेलमा रियल बेटिसमाथि ५–१ को फराकिलो जित हात पार्दै बार्सिलोनाले क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
पूरै खेल अवधिभर बार्सिलोनाले प्रभावशाली प्रदर्शन गर्यो । ६९ प्रतिशत बल होल्ड गरेको बार्साका लागि गाभीले खेल सुरू भएको तेस्रो मिनेटमै डेडलक तोडे । गाभीले मिडफिल्डर ड्यानी ओल्मोको असिस्टमा गोल गरेका हुन् । २७औं मिनेटमा डिफेन्डर जुल्स काउन्डेले बार्साको अग्रता दोब्बर बनाए । लमिन यमालको उत्कृष्ट पासमा काउन्डेले क्लोज–रेन्जबाट भली गोल गरे । काउन्डेको गोलपछि बार्सिलोनाका दुई प्रयासलाई अफसाइड करार गरियो ।
राफिन्हाले ५८ मिनेटमा तेस्रो गोल थपे । त्यसपछि फेरान टोरेसले चौथो गोल थपे । खेल सकिन १५ मिनेट बाँकी रहँदा यमालले टिमका लागि पाँचौं गोल गरे । यमालले यस सिजन सबै प्रतियोगिताहरूमा २२ गोलमा योगदान दिएका छन् । उनले ९ गोल गर्दा १३ असिस्ट दिएका छन् । ८४औं मिनेटमा भिटोर रोकले बेटिसका लागि पेनाल्टी स्पटबाट सान्त्वना गोल फर्काए ।
यस बाहेक भ्यालेन्सिया, लेगानेस, गेटाफे र एथलेटिको मड्रिड पनि अन्तिम ८ मा प्रवेश गरेका छन् ।