धनगढी । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वेन्टी क्रिकेट प्रतियोगिताको आज तेस्रो दिनका दुवै खेल रद्द भएका छन् ।
फाप्ला क्रिकेट मैदान धनगढीमा वर्षाका कारण आउटफिल्ड खेल्न योग्य नभएपछि खेल रद्द गर्नु परेको हो । आज बिहान ९ बजे कर्णाली र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुने तालिका थियो । दिउँसो नेपाल एपीएफ क्लब र लुम्बिनी प्रदेशबीचको खेल हुने तय भएको थियो । दुवै खेल समूह ए अन्तर्गतका थिए । खेल रद्द भएसँगै सबै टिमले समान १-१ अंक बाँडेका छन् ।
समूह ए मा एपीएफ ३ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा छ । सुदूरपश्चिम प्रदेश २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । समान १-१ अंक जोडेका गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश क्रमश तेस्रो चौथो र पाँचौ स्थानमा छन् । प्रतियोगितामा २ विभागीय र ७ प्रदेशको टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।