हिमाली जिल्ला हुम्लामा हिमपात (तस्वीर सहित)

माघ ३, २०८१ |जनकबहादुर शाही
हिमाली जिल्ला हुम्लामा हिमपात (तस्वीर सहित)

हुम्ला । हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । बिहबार बिहानैदेखि हुम्लामा हिमपात भएको हो । हिमपातसँगै अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । हिमपातका कारण हुम्लाको एक मात्र हवाई यातायात सेवा पनि अवरुद्ध भएको छ ।

बिहिबार बिहानबाट सुरु भएको हिमपात अहिले पनि लगातार परिरहेको छ । यो वर्षको ठुलो हिमपातका कारण हुम्लाको जनजीवन प्रभावित भएको छ ।यो हिमपातले आगामि चैत्रमा हुने एसइइको लागि ट्युसन पढ्न सदरमुकाम सिमकोट आएका विद्यार्थीहरुको दैनिकी झनै कष्टकर बनेको छ ।

हिमपातसँगै चिसो बढेपछि सरकारी कार्यालयका कर्मचारी आगो तापेर काम गरि रहेका छन् । जिल्ला भरिनै हिमपात भएपछि हुम्लाका दक्षिणी भेगका केहि बस्ति बाहेक पुरै हुम्लाका गाउँबस्ती नै सेताम्य देखिएका छन् । हिमपातले सिमकोट आउवजावत गर्ने सडक बन्द हुँदा जनजीवन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । हिमपातले वनमा भएको घाँस पुरिँदा १ हजार चौरीसहित गाँउका अन्य पशु जोखिममा परेका छन् ।

लामो समयदेखि हिउँदे झरी र हिउँ नपर्दा निराश बनेका किसानहरू सोमबार हिउँ पर्न थालेपछि खुसी भएको नाम्खा गाउँपालिका १ का धिंगाका कटक लामाले बताउनु भयो । हिउँदे वर्षा र हिमपातले खेतीपाती र पशुपालनलाई तत्काल असर गरेको जस्तो देखिए पनि यसले पछि राम्रो गर्ने उहाँले बताउनु भयो । नाम्खाको लिमी, मुचु, खगालगाउँ, यारी, चाला तिल, जाङ याङगार र ताङगीन गाउँलगायत स्थानमा बढी हिमपात भएको छ ।


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement