जय ट्रफी : मधेश विरुद्ध आर्मीको १२१ रनको अग्रता, बागमतीभन्दा पुलिस ९५ रनले अघि

पुस २७, २०८१ |खेल ब्युरो
जय ट्रफी : मधेश विरुद्ध आर्मीको १२१ रनको अग्रता, बागमतीभन्दा पुलिस ९५ रनले अघि

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपमा पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी क्लबले फलो अनमा परेको मधेश प्रदेश विरुद्ध १२१ रनको अग्रता लिएको छ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा मधेशले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि आर्मी सुरूमा ब्याटिङमा उत्रिएको थियो ।

आर्मीले ५९ ओभर ३ बलमा ९ विकेट गुमाएर २२५ रन बनाएको अवस्थामा इनिङ्स समाप्तिको घोषणा गरेको थियो । आर्मीका लागि ओपनर इमरान शेखले ४२ रन जोडे । भीम सार्कीले ५२ रनको अर्धशतकीय योगदान दिए । बसिर अहमदले सर्वाधिक ६७ रन बनाए । मधेशका लागि रञ्जित कुमारले ५, प्रदीप पासवानले २ तथा अभिषेक तिवारी र हरिशंकर साहले समान १ विकेट लिए ।

पहिलो इनिङ्समा १०२ रनमै समेटिएपछि मधेशले फलो अनको सामना गर्नुपर्यो । मधेशका लागि कप्तान हरिशंकर साहले ३१, अभिषेक तिवारीले १३, मायन यादवले ११ र प्रदीप पासवानले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । आर्मीका लागि शाहब आलमले ६ तथा सोमपाल कामी, बसिर अहमद र पवन कार्कीले समान १ विकेट लिए ।

फलो अनमा परेको मधेशले पहिलो दिनको समाप्तिमा विना कुनै विकेट गुमाएर २ रन बनाएको छ । क्रिजमा रहेका हिमान्शु दत्त र मायन यादवले मधेशका लागि दोस्रो दिनको सुरूआत गर्नेछन् । १२१ रनले पछि परेको मधेशलाई दोस्रो दिन आर्मीका लागि लक्ष्य निर्धारण गर्नुपर्ने चुनौती छ ।

यस्तै, पहिलो इनिङ्समा अमित श्रेष्ठ र अर्जुन साउदले अर्धशतक प्रहार गरेपछि विभागीय टोली नेपाल पुलिस क्लबले जय ट्रफी पुरुष एलिट कपमा बागमती प्रदेश विरुद्ध ९५ रनको अग्रता लिएको छ । पहिलो दिनको खेल सकिँदा दोस्रो इनिङ्समा बागमतीले विकेट नगुमाई ८ रन बनाएको छ ।

जनकपुरको राम जानकी रंगशालामा पुलिसले टस जितेर पहिला फिल्डिङ रोजेपछि सुरूमा ब्याटिङ गरेको बागमती ११२ रनमा समेटिएको थियो । बागमतीका ओपनर ईशान पाण्डेले सर्वाधिक ७१ रन बनाएका थिए । विपक्षी टिमको फिल्डिङमा बाधा पुर्याएपछि उनी 'अब्सट्रक्टिङ द फिल्ड' नियम अनुसार आउट भएका थिए । प्रतीश श्रेष्ठले १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । पुलिसका श्रवन यादवले ह्याट्रिक विकेट लिए । उनले प्रतीश सहित सूर्य तामाङ र कप्तान सन्दीप लामिछानेको विकेट लिएका थिए ।

ललित राजवंशीले सर्वाधिक ४ विकेट हात पारे । कुशल भुर्तेलको नाममा २ विकेट रह्यो ।

पुलिसले पहिलो इनिङ्समा सबै विकेट गुमाउँदै २१५ रन बनायो । अमित श्रेष्ठले सर्वाधिक ७९ रन बनाए भने अर्जुन साउदले ७७ रनको योगदान दिए । बागमतीका सन्दीपले सर्वाधिक ४ विकेट लिए । यससँगै पहिलो इनिङ्समा पुलिसले १०३ रनको अग्रता लिएको थियो ।

दोस्रो इनिङ्समा बागमतीले चार ओभर खेल्दै आठ रन बनाउँदा पहिलो दिनको खेल सकिएको थियो । ९५ रनले पछि परेको बागमतीका लागि दोस्रो दिनको सुरूआत ईशान पाण्डे र रीत गौतमले गर्नेछन् ।



Enter Kantipur TV HD
Advertisement