काठमाडौं । एन्फा महिला लिगमा प्रशिक्षकहरूले रेफ्रीको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आज भएको एपीएफ र आर्मीबीचको खेलमा फ्रि-किक दिने निर्णय लगायतमा रेफ्रीले देखाएको व्यवहारले प्रशिक्षक असन्तुष्ट बनेका हुन् ।
खेलपछि आर्मीका प्रशिक्षक कृष्णसिंह ठगुन्नाले घरेलु प्रतियोगिताका महत्त्वपूर्ण खेलमा विदेशी रेफ्रीको माग गरेका छन् । उनले परीक्षा मात्रै पास गरेका रेफ्री राख्नाले खेलाडीको मनोबल कमजोर भएको प्रतिक्रिया दिए ।
एक साताको अन्तरालमा चार खेल खेल्दा खेलाडीमा थकानको समस्या धेरै भएको र यसले असर गर्ने एपीएफका प्रशिक्षक जिवेश कुमार पाण्डेले बताएका छन्। उनले पनि रेफ्रीको व्यवहार सच्याउनु पर्ने बताए ।
यसअघि पुलिस र आर्मीको खेलमा पनि रेफ्रीको निर्णयप्रति पुलिस क्लबले आलोचना गरेको थियो । सो खेलमा रेफ्री नविन्द्र महर्जनले पूजा रानाको गोल रद्द गरिदिएका थिए ।