काठमाडौं । एपीएफ क्लब एन्फा महिला लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एपीएफले आज विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । एपीएफको उपाधी यात्रालाई बलियो बनाउने क्रममा अनिता बस्नेतले ह्याट्रिक गरिन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अनिताले एघारौं मिनेटमै गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन् । अनिताले प्रहार गरेको हाइ बल वान बाउन्स हुँदै गोलकिपर उषानाथको टाउको माथिबाट गोलमा परिणत भएको थियो । ३७ औं मिनेटमा रेनुका नगरकोटीले गोल गरेपछि एपीएफ पहिलो हाफमा दुई-शून्यले अघि रह्यो ।
सुरुवातमा सरु लिम्बूले गरेको प्रहार गोलकिपर उषानाथले पन्च गरेकी थिइन् । सोही बलमा प्रिति राईले मिलाएको बलमा रेनुकाले गोल गरेकी हुन् । सुपर लिगका यसअघिका खेलमा अपराजित पुलिसले ब्रेक पछि पुनरागमनको अपेक्षा गरेको थियो । तर उच्च फर्ममा रहेको एपीएफको आक्रमणलाई रोक्न सकेन् ।
८६ औं मिनेटमा सविता राना मगरको क्रसमा सुरु लिम्बुले गोल गरेपछि पुलिस तीन-शून्यले पछि पर्यो । लगत्तै सरुले एपीएफका लागि अर्को गोल थपिन् । यो पटक सरु र अनिता केसीबीच समन्वय भएको थियो । इन्जुरी समयको तेस्रो मिनेटमा अनिता केसीको लामो क्रसमा कप्तान अनिता बस्नेतले गोल गरेपछि पुलिससँगको एपीएफले पाँच-शून्यमा पुर्यो । खेलको अन्तिम समयमा अनिताले ह्याट्रिक पूरा गरिन् । अनिताका लागि सरुले क्रस दिएकी थिइन् ।
उत्कृष्ट प्रदर्शन गरेकी सुरु प्लेयर अफ द म्याच बनिन् । एपीएफ तीन खेलबाट नौ अंक जोड्दै शीर्ष स्थानमा उक्लियो । जारी लिगमा अपराजित एपीएफ एक मात्र टिम हो । सुपर लिगमा पुलिसको यो पहिलो हार हो । पहिलो स्थानमा पुग्ने मौका गुमाएको उसको चार खेलबाट ७ अंक छ । दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबको तीन खेलबाट सात अंक छ । लिगमा भोलि वालिङ नगरपालिका र बागमती युथ क्लबबीच खेल हुनेछ ।