काठमाडौं । मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
बुटवलमा आज भएको फाइनलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबमाथि पाँच सेटको रोमाञ्चक पुनरागमन जित हात पारेको हो । आर्मीले पहिलो सेट १८-२५ ले गुमाएको थियो । पुलिसका लागि रविन चन्द, पहल गहतराज र रविन नगरकोटीले उत्कृष्ट प्रदर्शन गरे । तर दोस्रो सेटमा पुलिसले सोही लयलाई कायम राख्न नसक्दा आर्मी खेलमा फर्कियो ।
२५-१८ ले सेट जितेपछि खेल एक एकको बराबरीमा पुगेको थियो । तेस्रो सेट फेरि पुलिसकै पक्षमा गयो । २५-२० ले यो सेट जितेपछि पुलिस उपाधितर्फ उन्मुख भएको थियो । चौथो सेट जितेको भए पुलिस च्याम्पियन बन्ने थियो ।
तर आर्मीले २५-२२ को जित हात पार्दै पुलिसलाई रोक्यो र खेल पाँचौं सेटमा धकेलियो । जसमा आर्मीले १५-७ को सहज जितका साथ उपाधि उचाल्यो । आर्मीले सात लाख नगद पुरस्कार प्राप्त गर्यो । उपविजेता पुलिसले तीन लाख ५० हजार पायो ।
तेस्रो भएको मणिमुकुन्द भलिबल क्लबलाई १ लाख ७५ हजार प्रदान गरिएको थियो । तेस्रो स्थानको प्रतिस्पर्धामा भारतको गुजरात भलिबल एसोसिएसन उपस्थित भएन ।