बहुदिवसीय क्रिकेट प्रतियोगिता जय ट्रफी आजदेखि सुरू हुँदै

पुस २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
बहुदिवसीय क्रिकेट प्रतियोगिता जय ट्रफी आजदेखि सुरू हुँदै

काठमाडौं । दुई दशकभन्दा लामो प्रतीक्षापछि जनकपुर र वीरगन्जमा आजदेखि घरेलु बहुदिवसीय क्रिकेट प्रतियोगिता जय ट्रफी मेन्स एलिट कप सुरू हुँदै छ । नेपाली क्रिकेटमा लामो समयपछि रातो बल र सेतो पोसाकको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो ।

सन् २०१९ मा इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लबसँग नेपालले अन्तिम पटक बहुदिवसीय क्रिकेट खेलेको थियो । प्रतियोगिताका लागि वीरगन्जको नारायणी क्रिकेट रंगशाला र जनकपुरधामको राम जानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार पारिएको छ । जनकपुरधाममा आज बिहान साढे ९ बजेदेखि सुरू हुने खेलमा बागमती प्रदेश र मधेश प्रदेश प्रतिस्पर्धा गर्दै छन् ।

गएको वर्ष माघमा भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोलीलाई यो प्रतियोगिताका लागि छनोट गरिएको थियो । आज वीरगन्जको नारायणी क्रिकेट रंगशालामा हुने खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्दै छन् ।

क्यानको वार्षिक क्यालेन्डर अनुसार यस वर्षको सुरूआतमै आयोजना हुनुपर्ने प्रतियोगिता विविध कारणले पछि धकेलिएको थियो । फाइनलसहित कुल ७ खेल हुने प्रतियोगिताको लिग चरणका खेल दुईदिवसीय र फाइनल तीनदिवसीय हुनेछ । हरेक टोलीले पहिलो इनिङमा समान ६० ओभर खेल्न पाउने छन् । टिमले चाहेको खण्डमा ६० ओभरभन्दा कममा नै इनिङ समाप्तिको घोषणा गर्न पाउने छन् ।

दोस्रो इनिङमा भने ओभरको सीमा तोकिएको छैन । फाइनलमा पहिलो इनिङमा हरेक टोलीले ८० ओभर पाउने छन् । प्रत्येक दिन तीन सत्रमा खेल हुने प्रतियोगितामा दिनमा कम्तीमा ९० ओभर खेलाइनुपर्ने भए पनि प्रतिकूल मौसमका कारण प्रकाश पर्याप्त नहुन सक्छ । नेपालका आधिकांश खेलाडीले पहिलो पटक रेडबल क्रिकेट खेल्न लागेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement