काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने करिब ९ सय बिघा जग्गा भारतीय नागरिकले भोगचलन गरिरहेको विषय संसदीय समितिमा उठेको छ । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले भारतीयहरुले उपयोग गरेको जग्गाका विषयमा सरकारसँग जानकारी माग गरेका हुन् ।
राज्यव्यवस्था तथा सुशासन समितिमा परेका उजुरीमाथि छलफल गर्न बसेको बैठकमा सांसदहरुले नेपाली जमिन भारतीय पक्षले उपयोग गरेका विषयमा जानकारी माग गरेका हुन् । नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडू र एमाले सांसद रघुजी पन्तले कञ्चनपुरमा नेपाली भूमि भारतीयले भोगचलन गरेको विषयमा गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका थिए ।
सांसदहरुले प्रश्न गरेपछि गृहमन्त्री लेखकले यो विषयमा सरकारको जानकारीमा रहेको र कूटनीतिक तवरले हल गर्ने जवाफ दिनुभयो । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब ९ सय बिघा वनक्षेत्रमा भारतीय नागरिकले खेतीपाती गरेर भोगचलन गर्दै आएका छन् ।
कान्तिपुर टेलिभिजनले पुस ७ गते तयार पारेको कञ्चनपुरमा ९ सय बिघाभन्दा धेरै नेपाली भूमि भारतीयको कब्जामा शीर्षकको यो रिपोर्ट हेर्नुहोस :
यस्तै समितिमा विचाराधिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग संशोधन विधेयक अगाडि नबढाएको भन्दै सत्तारुढ दलकै सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् । बैठकमा कांग्रेस सांसद हृदयराम थानीले बोल्ने क्रममा सभापति रामहरि खतिवडा बीचमै बोलेपछि विवादसमेत भएको थियो । सांसद थानीले अख्तियारसम्बन्धी विधेयक आइसीयूमा पुगेको हो भन्दै प्रश्न गर्नुभएको थियो ।
यस्तै समिति सञ्चालनकै विषयलाई लिएर एमाले सांसद राजेन्द्र राईलेसमेत असन्तुष्टि व्यक्त गर्नुभएको थियो । अख्तियारकै विधेयकसँग सम्बन्धित प्रसंगमा सांसद राईले बैठकका विषयमा राम्रोसँग सूचना प्रवाह नहुने भन्दै आलोचना गर्नुभएको थियो ।
अख्तियारसम्बन्धी विधेयकलाई रोकेर उजुरीमा प्रवेश गरेको विषयलाई सत्तारुढ दलकै सांसदहरुले आशंकासहित प्रश्न उठाएका हुन् ।
आजको बैठकमा राज्यव्यवस्था समितिमा रहेका उजुरीका विषयमा जानकारी गराइएको छ । अहिले राज्यव्यवस्थामा परेका ९२ उजुरीमध्ये ५८ दर्ता भएका छन् । ३४ उजुरी अध्ययनकै क्रममा छन् । उजुरीमाथि छानबिन गर्न उपसमिति गठन गर्ने सहमति भएको छ ।