भाग्यले अमेरिका पुर्‍यायो, दृढ संकल्पले मालिक बनायो

पुस २०, २०८१ |सविना कार्की|सुवास रोकाया
भाग्यले अमेरिका पुर्‍यायो, दृढ संकल्पले मालिक बनायो

काठमाडौं । नेपाली टोलीले अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउन सुरु गरे यता नेपालमा क्रिकेट एक खेलको रुपमा मात्रै अघि बढेन । यो इमोसन, उत्साह, जोस र एकताको प्रतिकको रुपमा प्रशंसकको हृदयमा बस्न सफल भयो । आज, हामी तपाईंलाई एक समर्पित नेपाली क्रिकेट प्रशंसकको कथा देखाउँछौं - जसले एक दशकमै फ्यानबाट टिम मालिकको यात्रा तय गरेका छन् । 

यो तस्बिर एक दशक पहिले टियु क्रिकेट मैदानमा कैद गरिएको हो । त्यतिखेर नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टी-२० विश्वकप छनोट २०१४ को तयारीमा थियो । यहाँ देखिएका युवा हुन नेपाली क्रिकेटका क्रेजी फ्यान- उत्सव सिग्देल । हाल नेपाल प्रिमियर लिग च्याम्पियन जनकपुर बोल्ट्सका को-अनर कुनै दिन नेपाली राष्ट्रिय क्रिकेट टिमलाई पछ्याउँदै हिँड्थे । उत्सव, नेपाली क्रिकेटका ठूला फ्यानमध्ये एक हुन् । 

एनपीएलसँगै उनको नाम अहिले नेपाली क्रिकेटमा जनकपुर बोल्ट्सको मालिकका रुपमा स्थापित भएको छ । कुनै सयम राष्ट्रिय टोलीबाट खेल्ने सपना देखेका उत्सवको यात्रा लगनशीलता र खेलप्रतिको अटुट मायाको प्रमाण हो । क्रिकेट प्रशंसकको रूपमा हुर्केका उत्सव नेपालको खेल हेर्न विश्वका विभिन्न क्षेत्रमा पुगेका छन् । स्ट्यान्डबाट खेलाडीलाई हौसला दिएका छन् । 

धेरै युवा जस्तै, उनले एक दिन राष्ट्रिय जर्सी लगाएर खेल्ने सपना देखेका थिए । तर त्यो समय क्रिकेटको अनिश्चित भविष्यको वास्तविकता बुझेका उत्सव कडा निर्णय लिन बाध्य भए । त्यतिबेला क्रिकेट खेलाडीको रूपमा जीवन अत्यन्तै असुरक्षित थियो ।

डिभी परेपछि उनलाई भाग्यले अमेरिका पुर्‍यायो । अमेरिकामा उनले कडा परिश्रम गरे । नेपालको खेल हेर्न उनी अमेरिकाबाटै विभिन्न देश पुग्थे । क्रिकेटप्रतिको अटुट प्रेमले उनी फेरि नेपाल फर्किए । नेपाली क्रिकेटमा लगानी गर्ने उनको चाहना नेपाल टी-२० लिगले पुरा गर्यो । लुम्बिनी अल स्टारमा लगानी गरेका उत्सवको टोली च्याम्पियन पनि बन्यो । तर विविध कारणले सो लिग एक सिजनभन्दा अघि बढ्न सकेन । त्यसपछि गतअसार अन्तिम साता बसेको नेपाल क्रिकेट संघ क्यानको कार्यसमिति बैठकले नेपाल प्रिमियर लिग एनपीएल आयोजना गर्ने निर्णय गर्‍यो । त्यसपछि उत्सवका लागि नेपाली क्रिकेटमा लगानी गर्ने अर्को बाटो खुलेको हो ।


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।

Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement