काठमाडौं । पराजयको लामो शृंखला तोडेर म्यानचेस्टर सिटीले गए राति इंग्लिस प्रिमियर लिगमा जित दर्ता गरेको छ। लेसेस्टर सिटीको किङ पावर मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटी २-० गोल अन्तरले विजयी भएको हो ।
सिटीको जितमा सेविन्हो र हालान्डले गोल गरेका थिए । २१औं मिनेटमा सिटीको लागि सेभिन्होले गोल गरेर खेलमा अग्रता बनाए । जारी प्रिमियर लिगमा सेभिन्होको यो नै पहिलो गोल हो । सुरूमा फिल फोडेनले लामो दूरीबाट गरेको प्रहार लेस्टरका गोलकिपरले बचाएका थिए । रिबाउन्डमा सेभिन्होको प्रहार बचाउन गोलकिपर असफल रहे ।
म्यानचेस्टर सिटीले पछिल्ला १० खेलमा केबल दुई जित आत्मसाथ गरेको छ । उसले जित सहित वर्षको समाप्ति गरेको छ । योसँगै जनवरी विन्डोमा प्रशिक्षक पेप ग्वार्डिओलाले नयाँ खेलाडी अनुबन्ध गर्ने चासो देखाएका छन् । गए रातिको खेलसँगै उनले सिटीमा रहेर पाँच सय खेल पूरा गरेका छन् ।
यता लेसेस्टर सिटीले भने पछिल्लो चार खेलमा हार बेहोरेको छ । खराब फर्ममा रहेका दुवै टोलीको भेट हुँदा सिटीले जित निकालेको हो । पहिलो हाफमा बनाएको अग्रतालाई हालान्डले हेडरमार्फत् ७४औं मिनेटमा दोब्बर पारे । उनले लिगमा सात डिसेम्बरपछि पहिलो गोल गरेका हुन् ।
जितसँगै सिटी पाँचौं स्थानमा उक्लिएको छ । उसले १९ खेलबाट ३१ अंक बनाएको छ । पराजित लेसेस्टर रेलिगेसन जोनमा छ ।
प्रिमियर लिगमा गए राति नै भएका अन्य खेलहरूमा भने टोटेनहम हट्स्परले वुल्भरह्याम्टनसँग २-२ को बराबरी खेलेको छ। क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई २-१ गोलले हराएको छ । यस्तै, नटिङ्घम फरेस्टले इभर्टनलाई २-० गोलले हराएको छ ।