काठमाडौं । आर्सनलले नयाँ वर्षको सुरुवात जितबाट गरेको छ । इंग्लिस प्रिमियर लिगमा आर्सनलले ब्रेन्टर्फडलाई ३-१ गोलले पराजित गरेको हो । घरेलु टिमविरुद्ध आर्सनल १-० गोलले पछि परेको अवस्थाबाट खेलमा फर्किएको थियो ।
खेल सुरु भएको १३औं मिनेटमानै ब्रेन्टर्फडले ब्रायन एमबेमोको गोलमार्फत अग्रता लिएको थियो । ब्रेन्टर्फडले अग्रता दोब्बर बनाउने मौका पाएको थियो । तर सफल भएन् । २९औं मिनेटमा आर्सनलले खेल बराबरी गर्यो । उसका लागि गाब्रिएल जेजुसले गोल गरेका हुन् ।
सुरुवातमा थोमस पार्टीले गरेको प्रहार ब्रेन्टर्फड गोलकिपर मार्क फ्लेकनले पन्च गरेका थिए । तर उनले राम्रोसँग क्लियर गर्न नसकेको बलमा जेजुसले गोल गर्दै आर्सनललाई खेलमा फर्काए ।
पहिलो हाफ १-१ को बराबरीमा सकियो । ५०औं मिनेटमा मिकेल मरिनोको गोलपछि आर्सनल खेलमा दुई एकले अघि रह्यो । ५३औं मिनेटमा गाब्रिएल मार्टिनेलीले आर्सनलका लागि तेस्रो गोल गरेका थिए ।
आर्सनल बुकायो साका र काइ हाभर्टस बिना मैदान उत्रिएको थियो । साका चोटग्रस्त छन् भने हाभर्टस विरामी परेका थिए । प्रशिक्षक मिकेल अर्टेटाले यो खेलमा १७ वर्षीय इथन वानेरीलाई प्रिमियर लिगमा पहिलो पटक सुरुवाती एघारमा मौका दिएका थिए । उनी आफ्नो प्रभाव जमाउन सफल भए । जितपछि आर्सनल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसको १९ खेलबाट ३९ अंक छ । शीर्ष स्थानको लिभरपुलको ४५ अंक छ । तर लिभरपुलले आर्सनलभन्दा एक खेल कम खेलेको छ ।