वेस्टह्याम विरुद्ध लिभरपूलको फराकिलो जित

पुस १५, २०८१ |खेल ब्युरो
वेस्टह्याम विरुद्ध लिभरपूलको फराकिलो जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपूलले वेस्टह्याम विरुद्ध ५-० गोल अन्तरको जित हात पारेको छ । गएराति वेस्टह्यामकै मैदानमा भएको खेलमा घरेलु समर्थकमाझ लिभरपूलले क्लिनशिट राखेर फराकिलो जित दर्ता गरेको हो ।

लिभरपूलका लागि लुइस डियाज, कोडी गाक्पो, मोहम्मद सलाह, अलेक्जेन्डर आर्नोल्ड र डिएगो जोटाले गोल गरेका थिए । यो सिजन शानदार प्रदर्शन गरिरहेको लिभरपूलले जितसँगै अंकतालिकाको शीर्षस्थानमा आठ अंकको अग्रता बनाएको छ ।

खेलको सुरूआतबाटै आक्रमण तीव्र पारेको लिभरपूलको लागि ३०औं मिनेटमा डियाजले गोल गरे । वेस्टह्यामका पकेटा र कुडुसले खेलको ३८औं मिनेटमा खेल बराबरीमा ल्याउने अवसर पाए पनि प्रहार पोस्टको बारमा लागेर फर्किएको थियो । त्यसपछि वेस्टह्यामका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई कोडी गाक्पोले गोलमा परिणत गरे । सलाहको पासमा गाक्पोले गोल गरेसँगै लिभरपूलले दुई गोलको अग्रता लियो । सलाहले पनि पहिलो हाफमै गोल गरे । वेस्टह्यामको डिफेन्स निकै कमजोर देखिएको थियो ।

दोस्रो हाफमा अलेक्जेन्डरको प्रहारलाई गोलकिपरले रोक्ने अवसर नै पाएनन् । ३५ यार्डभन्दा टाढाबाट उनको प्रहार वेस्टह्यामका डिफेन्डर म्याक्सिमिलानसँग ठोक्किएर सीधै गोलमा परिणत भएको थियो ।

तीन डिफेन्डरबीच रहेको अवस्थाबाट सलाहले निकालिदिएको पासमा जोटाले खेलको ८४औं मिनेटमा गोल गरे । योसँगै लिभरपूलले खेलमा फराकिलो जित दर्ता गर्‍यो । लिभरपूल २३ खेलयता अपराजित छ । 

लिभरपूलमा सलाहको यो सिजनसँगै सम्झौता समाप्त हुँदै छ । तर, उनले अझै उत्कृष्ट खेल खेलिरहेका छन् । सलाहले १८ प्रिमियर लिग खेलमा १७ गोल गरिसकेका छन् भने १३ पास उपलब्ध गराएका छन् । उनी अहिले लिगको सर्वाधिक गोलकर्ता पनि हुन् । दोस्रो स्थानका हाल्यान्डले १४ गोल गरेका छन् ।



Enter Kantipur TV HD
Advertisement