काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले नेपालका भन्सार कार्यालयहरू अनियमितताको केन्द्र बनेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी विधेयकलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा विचार राख्ने क्रममा सांसदहरूले नेपाली भन्सार अनियमितताको केन्द्र बनेको बताएका हुन् ।
सांसदहरूले भन्सार कार्यालयमा सर्भर बिगार्नेदेखि सामान जाँचपास गर्ने एक्स रे मेसिन बिगार्नेसम्मको काम हुने गरेको आरोप लगाए । भन्सारका कर्मचारीहरूको व्यवहार सेवाग्राहीमैत्री नभएको आरोप पनि सांसदहरूको छ ।
समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद पदम गिरीले भन्सारका मेसिन वर्षौंसम्म नबन्नु भनेको भ्रष्टाचार गर्ने नियत भएको दाबी गर्नुभयो । साथै बैठकमा नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नपर्ने बताउनुभयो ।
बैठकमा सांसदद्वय ज्ञानबहादुर शाही र गंगा कार्कीले भारतीय गाडीको नेपाल प्रवेश र असीमित समय बस्न पाउने सुविधाले नेपाली व्यवसायीको रोजगारी गुमेको आरोप लगाउनुभयो । नेपाली भूमिमा भारतीय गाडीको मनोमानी रोक्नुपर्ने उहाँहरूको भनाइ छ ।
सांसद भगवती चौधरीले भन्सार महसुल चर्को भएकाले सीमावर्ती क्षेत्रका नेपालीहरू सबै भारतीय बजारमा जाने गरेकाले भन्सार महसुल कम गरे मात्रै सीमावर्ती नेपाली बजार चल्न सक्ने बताउनुभयो ।