बाँके । नेपालगन्जमा साइकलयात्रीको संख्या बढ्दै गएको छ । नियमितरूपमा हुने साइकल दौडमा सहभागी हुनेहरूमा साना बालबालिकादेखि पाको उमेरका सोखिन यात्रीहरू पनि थपिँदै गएका छन् ।
हिमाल, पहाडको भिरालो भूगोलमा एडभेन्चरका रूपमा साइकल दौडाउनेहरू पनि नेपालगन्जको समथर भूमिसम्म पुग्न थालेका छन् । डाँडाकाँडा र ठूल्ठूला खाल्डाखुल्डीमा साइकल कुदाउन सक्नेहरू नेपालगन्जमा छिटो साइकल कुदाएर रेकर्ड पनि राख्न थालेका छन् ।
सिन्धुपाल्चोकको पहाडी धरातलमा साइकल कुदाउँदा जति मज्जा र सन्तुष्टि पाइन्थ्यो नेपालगन्ज कोहलपुर रत्न राजमार्गमा साइकल कुदाएर उपाधि जित्दा पनि सुरज रानामगरलाई प्रतिस्पर्धा गरे जस्तै लागेन । समथर मार्गमा न कतै खाल्डाखुल्डी न त डाँडाकाँडा नै । दुवै हात छाडेर ३५ देखि ४० किलोमिटरको रफ्तारमा साइकल कुदाउँदा पनि सुरजलाई थकाइ लागेन । सातौं मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको प्रथम उपाधि हात पार्न सफल सुरजलाई महिला साइकल यात्री नदेख्दा भने खल्लो लाग्यो ।
बीपी चोकबाट सुरू भएको साइकलयात्राका प्रतिस्पर्धी काभ्रेका अच्यूतकृष्ण खरेल पनि थिए । ६ वर्षअघि माउन्टेन साइकलयात्रा थालेका अच्यूतकृष्ण भारत, कोरिया र चीनमा भएका साइकल दौडमा सहभागी भइसकेका छन् । उनीसँग सतह नमिलेको धरातलमा कुदाउने माउन्टेन साइकल भएकाले समथर मार्गमा कुदाउँदा सहज नभए पनि रमाइलो अनुभूति सँगालेर उनी फर्किएका छन् ।
नेपालगन्ज साइक्लिङ क्लबले हरेक वर्ष साइकल रेस प्रतियोगिता आयोजना गराउँदै आएको छ । बाँकेमा मात्र ४ सयभन्दा बढी मानिस हरेक बिहान शारीरिक तन्दुरुस्तीका लागि साइकल दौडमा निस्कने गर्छन् । तर महिला यात्री भने अपेक्षितरूपमा बढेको छैनन् ।
साइकल यात्राकै माध्यमबाट शहरको पहिचान बढाउने उद्देश्यले पश्चिम तराईको प्रमुख शहर नेपालगन्जमा साइकल रेस हुँदै आएको छ । जसले बाँकेबाट राष्ट्रियस्तरका साइकल दौडका खेलाडी उत्पादन भइरहेका छन् । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा बाँकेबाट महिला र पुरुष गरी १२ जनाले प्रतिनिधित्व गरेका थिए । कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुदमा बाँकेबाट धेरैभन्दा धेरै खेलाडीको प्रतिनिधित्व गराउने नेपालगन्ज साइक्लिङ क्लबका पदाधिकारीहरूले बताएका छन् ।