
काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगमा पहिलो जित दर्ता गर्दै प्लेअफको प्रतिस्पर्धामा रोमाञ्चकता भरेको छ।
अंकतालिकाको पुछारमा रहेको टिमको जितसँगै अब सबै टिमको प्लेअफको सम्भावना कायम रहेको हो। जनकपुरले मंगलबारको खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्यो। जनकपुरको जितमा माज सदाकत र अनिल शाहले ७९ रनको विस्फोटक साझेदारी गरेका थिए।
मंगलबारको जितसँगै जनकनपुरको पराजयको शृंखलामा पूर्णविराम लागेको छ। र, चितवनको हारसँगै प्लेअफ सम्भावना टाढिएको छ। टीयू क्रिकेट स्टेडियममा निर्धारित २० ओभरमा चार विकेट गुमाएर चितवनले एक सय ७६ रन बनाएको हो। चितवनका ओपनर डेविड मलान र अर्जुन साउदले सानदार ओपनिङ पार्टनरसिप गरेका थिए।
फ्लाट बन्दै गरेको पिचमा उनीहरूले एक सय १२ रनको साझेदारी गरेका हुन्। ३९ बलमा ५२ रन बनाएका अर्जुन साउदलाई १३ ओभर चार बलमा लोफ्टी इटनले आउट गराएका थिए। उनले यसक्रममा ४ चौका र तीन छक्का प्रहार गरे। त्यसपछि सेफ जैब ७ र रबि बोपारा तीन रनमा आउट भए। उनीहरूलाई क्रमश: अनिल शाह र रूपेश सिंहले क्याचआउट गराएका हुन्।
एनपीएलको सुरूआतका खेलदेखि नै चल्न नसकेका ओपनर डेविडले मंगलबार सानदार ब्याटिङ लय प्रस्तुत गरे। उनले ५४ बलमा चार चौका र पाँच छक्काको सहयोगमा ८० रन जोडर आउट भए। उनलाई माज सदाकतले एलबिडब्ल्यु आउट गराएका हुन्। अन्तिममा १४ बलमा कुशल मल्लले अविजित ३० रन बनाएर क्यामियो पारी खेलेसँगै चितवनले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको हो ।
जनकपुरको ओपनिङमा मंगलबार आशिफ शेखसँग माज सादकत आएका थिए। जनपकुले ओपनिङमा आज तेस्रो परीक्षण गरेको थियो। उनीहरूले ४५ रनको साझेदारी गर्न सके। ५ ओभर एक बलमा आशिफलाई कमल सिंह ऐरीले क्याचआउट गराएका हुन्।
त्यसपछि अनिलले माजसँग मिलेर ७९ रनको साझेदारी गरेका थिए। सदाकतले ३० बलमा ६३ रनको सानदार इनिङ्स खेले। उनले ६ चौका र चार छक्का प्रहार गरेका थिए। त्यसैगरी, अनिल शाहले पनि ३६ बलमा ६१ रन जोड्न सके। २४ बलमा अर्धशतक पुरा गरेका उनले चार चौका र तीन छक्का प्रहार गरेका थिए। अन्तिममा आदित्य महताले ७ बलमा १८ रन जोडेर खेललाई १७ ओभर तीन बलमा फिनिस गरेका हुन्।
आजको खेलमा चितवनले ८ बलरलाई प्रयोग गरेको भए पनि जनकपुरको आक्रामक ब्याटिङलाई रोक्न सकेन। सबै ओभरमा जनपुरले दबाबरहीत भएर खेल्न सक्यो। सोहेल तन्वीर, कमल र अमर रउटेलाले समान एक-एक विकेट लिएका थिए भने यान निकोल लफ्टी इटन रनआउट भए। आजको जितसँगै जनकपुरले पहिलो दुई अंक जोडेको हो भने चितवनको चार अंक छ।