दोलखा । गत असोजमा पहिरोले क्षति गरेर उत्पादन बन्द भएको स्वदेशी लगानीको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र मंगलबार रातिबाट सञ्चालनमा आएको छ ।
पहिराले क्षतिग्रस्त बनाएको बायाँतर्फको बालुवा थिग्र्याउने पोखरी पुनःनिर्माण गरेर जलाशयबाट सीधै पानी पठाएर विद्युत् उत्पादन थालिएको हो । हिजो साँझ ७ बजेर ४० मिनेटमा तामाकोशीबाट १२० मेगावाट विद्युत् उत्पादन भएको विद्युत् केन्द्रका कार्यकारी प्रमुख मोहनप्रसाद गौतमले बताउनुभयो ।
पहिराले क्षति गरेका संरचनालाई आंशिक मर्मत गरेर उत्पादन ८८ दिनपछि तामाकोशी सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । माघ पहिलो साताबाट दायाँतर्फको बालुवा थिग्र्याउने पोखरी मर्मत सकिने भएकाले विद्युत् केन्द्र पूर्ण रूपमा अर्थात ४५६ मेगावाट विद्युत उत्पादन हुनेगरी सञ्चालन हुने उहाँले बताउनुभयो ।
विद्युत केन्द्रको हेडवर्क्समाथिबाट आएको पहिराले क्षति गरेको विद्युत् संचालन केन्द्र निर्माण गर्न भने कम्तीमा एक वर्ष लाग्ने उहाँले बताउनुभयो । हाललाई विद्युत्को माग धान्न जलाशयबाट सीधै पानी पठाएर उत्पादन थालिएको हो । दिनभर जलाशय भरेर साँझमा भने विद्युत् उत्पादन बढाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।
माथिल्लो तामाकोशीमा गएको असोज १२ गते पहिरोले गरेको क्षतिको एक अर्ब ८० करोड रुपैयाँ बीमा दाबी भइसकेको उहाँले बताउनुभयो ।