मोरङ । मोरङको कटहरी गाउँपालिका-२ मा एक महिलामाथि सामूहिक रूपमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जहदा गाउँपालिका-३ कि २३ वर्षीया महिला घरदेखि करिब दुई किलोमिटर टाढा कटहरी गाउँपालिका-२ मा पर्ने खेतबारीको बीचमा रहेको बाँस झ्याङमा हातखुट्टा बाँधेको अवस्थामा अचेत अवस्थामा फेला परेकी थिइन् ।
प्रहरीका अनुसार कटहरी गाउँपालिका-२ का १९ वर्षीय मोहम्मद रमजान, सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररिया कुशाकट्टा बस्ने १९ वर्षीय मोहम्द गुल्जार पक्राउ परेका छन् ।
अचेत अवस्थामा भेटिएकी महिलाको स्वास्थ्यमा सुधार भइरहेको छ । उनकै बयानका आधारमा तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरबाट शौच गर्न निस्किएकी महिलालाई तीन जनाको समूहले सिटी सफारीमा राखी कटहरी-२ स्थित बाँस झ्याङमा लागेर हातखुट्टा बाँधेर र मुखमा कपडा राखेर जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।
महिलाको शरीरका केही भागमा निलडाम पनि छन् । थप विषय स्वास्थ्य परीक्षणपछि मात्रै खुल्ने प्रहरीले बताएको छ ।