काठमाडौं । पाकिस्तानमा अर्को वर्ष आयोजना हुने च्याम्पियन्स ट्रफीअन्तर्गत भारतका खेलहरु यूएईमा आयोजना हुने भएका छन् । पाकिस्तान जाने अनुमति नपाएपछि भारतीय टिमका सबै खेल यूएईमा हुने भएको हो ।
हिजो पाकिस्तान क्रिकेट बोर्ड- पीसीबीका अध्यक्ष मोहसिन नक्वीले शेख मुबाकरसँग भेट गर्दै यो खेलको भविष्यको बारेमा निर्णय लिएका हुन् । मुबाकर यूएई क्रिकेटका अध्यक्षसमेत हुन् । पीसीबीका प्रवक्ता आमिर मीरले पाकिस्तानले च्याम्पियन्स ट्रफीका लागि यूएईलाई तटस्थ आयोजनास्थलको रुपमा छनोट गरेको बताए । अब पाकिस्तान र भारतबीचको खेल फेब्रुअरी २३ मा हुनेछ ।
समूह एमा आयोजक पाकिस्तानसँगै भारत, बंगलादेश र न्युजिल्यान्ड छन् । भारतले फेब्रुअरी २० मा बंगलादेशसँग र मार्च २ मा न्युजिल्यान्डसँग खेल्नेछ । यी सबै खेल दुबईमै हुनेछन् । यससँगै प्रतियोगिता हाइब्रिड मोडेलमा आयोजना हुने भएको छ । सन् २०१७ मा भएको प्रतियोगिताको विजेता पाकिस्तानले आफ्नो पहिलो खेलमा फेब्रुअरी १९ मा कराँचीमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानको अन्तिम लिग खेल बंगलादेशसँग फेब्रुअरी २७ मा रावलपिण्डीमा हुनेछ ।
समूह बीमा अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड र दक्षिण अफ्रिका छन् । लाहोर, कराँची र रावलपिण्डीमा भारतकाबाहेक दुवै समूहका खेल हुनेछन् । प्रतियोगिताको सेमिफाइनल खेल मार्च ४ र ५ मा हुनेछन् । पहिलो सेमिफाइनलमा रिजर्भ डेको व्यवस्था छैन ।
दोस्रो सेमिफाइनल र फाइनल खेलमा भने रिजर्भ डे राखिएको छ । मार्च ९ मा प्रतियोगिताको फाइनल हुनेछ । यदि भारतले सेमिफाइनलमा स्थान बनाए पहिलो सेमिफाइनल यूएईमा खेलाइने छ । भारत छनोट हुन नसके दुवै सेमिफाइनल खेल पाकिस्तानमा हुनेछ । फाइनल लाहोरमा खेलाइने तय भएको छ ।