काठमाडौं । देशको अहिलेको आर्थिक अवस्थासँग अर्थमन्त्रीनै सन्तुष्ट हुनुहुन्न । यता सरकारका प्रवक्ता भने मुलुक श्रीलंका बन्नबाट जोगाएको दाबी गर्नुहुन्छ। अर्थतन्त्र प्रतिको यस्तो फरकफरक धारणाले हाम्रो अर्थतन्त्र प्रति सरकारी भनाइको सत्यतामा प्रश्न उठेको छ ।
पछिल्लो समय सरकारका मन्त्रीहरु नै देशलाई श्रीलंका बन्नबाट जोगाएको भन्दै जस लिने होडमा छन् । दुई वर्षअघिको श्रीलंकाको अवस्था देखाएर त्यसबाट नेपाललाई जोगाएको दाबी मन्त्रीहरुको छ । जबकी दुई वर्षको अन्तरालमा नेपालको अर्थतन्त्र शिथिलबाट माथि उठ्न नसक्दा श्रीलंकाको अर्थतन्त्र भने जोखिमपूर्ण स्थितिबाट सकारात्मक दिशामा अघि बढिसकेको छ । नेपालबाट युवा पलायन बढ्दै गर्दा श्रीलंकामा रोजगारी मात्रै होइन, निजी क्षेत्रमा जाने कर्जा पनि बढेको छ । जबकी नेपालमा लगानी बढ्न नसक्दा ७ खर्बभन्दा बढी रकम बैंकमा थुप्रिएको छ ।
मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले आइतबार मुलुक श्रीलंका बन्नबाट जोगाएको बताउनुभयो । र यो नै वर्तमान सरकारको सबैभन्दा ठुलो उपलब्धि हो भन्न पनि उहाँले भ्याउनुभयो । दुई वर्षअघि श्रीलंकासँग एक हप्ताका लागि धान्ने पनि विदेशि मुद्रा सञ्चिति थिएन । औषधि, पेट्रोलियमसँगै परीक्षाका लागि कागज किन्ने क्षमता पनि उसले गुमाएको थियो । त्यही अवस्था देखाउादै मन्त्री गुरुङले मुलुक श्रीलंका बन्नबाट जोगिएको दाबी गर्नुभएको हो ।
तर सरकारका प्रवक्ता पछिल्लो समय श्रीलंकामा भएको आर्थिक सुधारमा भने अनभिज्ञ देखिनुभएको छ । एक साताको पनि सञ्चिति नरहेको श्रीलंकासँग अहिले ६ अर्ब ५० करोड अमेरिकी डलर सञ्चिति छ । जसले ३ दशलमव आठ महिनाको आयात धान्छ । नेपालमा अहिले लगानीको वातावरण तयार हुन नसक्दा बैंकबाट निजी क्षेत्रमा जाने कर्जा साढे दुई प्रतिशत मात्रै बढेको छ । जबकी श्रीलंकामा ६ दशलमव नौ प्रतिशतले कर्जा बढेको छ । मुलुकमा रोजगारी बढ्न नसक्दा युवा पलायन भइरहेका बेलामा श्रीलंकामा भने रोजगारी बढेको पुष्टि श्रम शक्ति आबद्धताले देखाउँछ ।
श्रीलंकामा पर्यटन तथा रेमिट्यान्ससँगै खाद्यान्न तथा निर्माण क्षेत्रसम्बन्धी उद्योगको उत्पादनमा आएको सुधारले सन् २०२४ को पहिलो त्रैमासमा ५ प्रतिशतले आर्थिक वृद्धि भइसकेको छ । जुन यो वर्ष पनि निरन्तर रहने अपेक्षा छ । प्रतिव्यक्ति आम्दानी श्रीलंकाको ३८ सय २८ अमेरिकी डलर रहेकामा नेपालको १४ सय ५६ मात्रै छ ।
तत्कालिन अवस्थामा अप्ठ्यारोमा रहेको श्रीलंकाको अर्थतन्त्र देखाएर देश श्रीलंका हुनसक्छ भन्ने भाषण राजनीतिक नेतृत्वले गर्दा गर्दै श्रीलंकाको अर्थतन्त्र सुधारको बाटोमा लागिसकेको छ । तर सरकारका प्रवक्ताले श्रीलंका बन्नबाट जोगाएको भन्दै बताइरहँदा अर्थमन्त्री विष्णु पौडेल भने देशको अहिलेको आर्थिक अवस्थासँग सन्तुष्ट हुनुहुन्न । एउटै क्याबिनेटका दुइ मन्त्रीको अर्थतन्त्र प्रतिको फरकफरक धारणाले हाम्रो अर्थतन्त्र प्रति सरकारी भनाइको सत्यतामा प्रश्न उठाइ दिएको छ ।
अर्थमन्त्री नै अहिलेको आर्थिक सुधारसँग सन्तुष्ट नरहेका बेलामा प्रवक्ता गुरुङ सरकारलाई जस दिलाउन दुई वर्षअघिको श्रीलंकासँग तुलना गर्दै हुनुहुन्छ । अहिलेको अवस्था त कस्तो हो भने देशलाई श्रीलंका बन्न बाट जोगाउने होइन तत्काल श्रीलंकाको जस्तो आर्थिक सुधारको बाटो पहिल्याउने हो ।