काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालीफायर्समा कर्णाली याक्सले जनकपुर बोल्ट्स सामु १ सय १९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
टीयू क्रिकेट मैदानमा जनकपुरले टस जितेर पहिला फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल तयार पारेको हो ।
खराब ब्याटिङ गरेको कर्णालीका ओपनर जयकिशन कोल्सावाला १ रनमा आउट भए । अर्का ओपनर देव खनालले २४ रन जोडे । विलियम बोसिस्टोले १४ रन बनाए । जिशान मक्सुद १२ रनमा अउट भए । गुलशन झाले सर्वाधिक २५ रन युनिस विक्रमसिंह ठकुरी १२ रनमा आउट हुँदा कप्तान सोमपाल कामी ५ रनमा बाहिरिए ।
नन्दन यादव ४ रनमा नट आउट रहे । जनकपुरका लागि जिम्मी निसम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान २-२ तथा हर्ष ठाकर र शेर मल्लले समान १-१ विकेट लिए ।
१ सय १९ रनको विजयी लक्ष्य सहित जनकपुरले अहिले जवाफी ब्याटिङ गरिरेको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने फाइनलमा स्थान पक्का गरिसकेको छ । कर्णालीले भने बुधबार भएको इलिमिनेटरमा चितवनलाई हराएदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।