काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले यही पुस १२ देखि १४ सम्म "मध्यपुर महोत्सव" गर्ने भएको छ ।
मध्यपुरलाई पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउने उद्देश्यले ‘मध्यपुर महोत्सव’ गर्न लागिएको हो । महोत्सवमा नगरका स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रवर्द्धन गरिने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
थिमी शंखधरचोकबाट सुरु हुने महोत्सवका विभिन्न कार्यक्रम र प्रदर्शनी बालकुमारी, चपाचो, नगदेश र बोडे हुँदै तिगनिको नीलबाराहीसम्मका ऐतिहासिक वस्तीसम्म सञ्चालन हुने छ ।
महोत्सवमा नगरका विभिन्न स्थानमा करिव ४ सय स्टल रहने छन् । स्थानीय मौलिक कला, संस्कृतिअन्तर्गत २५ वटा विभिन्न नाच प्रदर्शन हुने छन् ।