काठमाडौं । स्पेनिस टोली रियल मड्रिडले अन्तर महादेशीय कप फुटबल २०२४ को उपाधि जितेको छ । गए राति सम्पन्न खेलमा मेक्सिकोको पाचुकालाई ३–० ले हराउँदै रियल च्याम्पियन बनेको हो ।
रियललाई उपाधि दिलाउन केलियन एमबाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले १–१ गोल गरे । कतारको लुसेल स्टेडियममा रियलले पूरै खेलभर प्रभुत्वशाली प्रदर्शन गरेको थियो । पाचुकाले काउन्टर– अट्याकमा केही मुभ बनाए पनि गोल गर्न सकेन ।
च्याम्पियन्स लिग विजेता रियालले ३७औं मिनेटमा डेडलक तोड्यो । जुड बेलिङ्घमले भिनिसियस जुनियरलाई बल उपलब्ध गराएका थिए । तर भिनिसियसले एम्बाप्पेका लागि सहज अवस्था सिर्जना गर्दा फ्रेन्च स्टारले कुनै गल्ती गरेनन् ।
५२ औं मिनेटमा रोड्रिगोले दुई डिफेन्डरलाई पछि पार्दै प्रहार गरेको कर्लिङ स्ट्राइकले जाली चुम्यो । ८३औं मिनेटमा ओसामा इड्रिसीले कप्तान लुकास भाज्क्वेजलाई बक्सभित्र फाउल गरेपछि रियलले पेनाल्टीको अवसर पायो । सो अवसरमा फिफा बेस्ट अवार्ड विजेता भिनिसियस जुनियरले कुनै गल्ती गरेनन् ।
यससँगै रियलले आफ्ना नाममा फिफाले आयोजना गर्ने नवौं विश्वव्यापी उपाधि जित्न सफल भयो । रियलले तीन वटा अन्तर महादेशीय कप र पाँच क्लब विश्वकप जितेको छ ।