काठमाडौं । गृहमन्त्री अमित शाहको अभिव्यक्तिलाई लिएर भारतीय संसद् बाहिर विपक्षीले प्रदर्शन गरेका छन् । विपक्षी दलले लोकसभा र राज्यसभा बाहिर गृहमन्त्रीको विरोध गर्दै राजीनामा समेत मागेका छन् ।
गृहमन्त्री शाहले हिजो राज्यसभामा आफ्नो सम्बोधनका क्रममा बाबा साहेब भीम राव अम्बेडकरका विषयमा भेदभावपूर्ण र विवादास्पद अभिव्यक्ति दिएको भन्दै विपक्षी सांसदले माफी माग्न र राजीनामा दिन भनेका हुन् । सत्ता पक्ष र विपक्षीबीचको विवादले हंगामा भएको छ ।
सत्ता पक्षीय नेताहरुले भने कंग्रेस सांसद राहुल गान्धीले संसद् प्रवेश गर्न खोज्दा भाजपा सांसद प्रताप सारंगी र मुकेश राजपुतलाई धक्का दिएको आरोप लगाएका छन् ।
राहुलले धक्का दिँदा भाजपा सांसद प्रताप सारंगीको टाउकोमा चोट लागेको छ । मुकेश राजपुतलाई आइसीयूमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सत्ता पक्षले विपक्षी नेताको व्यवहारप्रति कानुनी कारवाही गर्ने चेतावनी दिएका छन् । उनीहरुले संसद भवन अगाडि रहेको प्रहरी चौकीमा राहुलविरुद्ध उजुरी दर्ता गर्ने तयारी गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यता राहुलले भने भाजपाका सांसदहरुले संसद्को प्रवेशद्वारमा आफूलाई रोकेको भन्दै बचाउ गर्नुभएको छ । कंग्रेस अध्यक्ष माल्लिकाअर्जनु खड्गेले लोकसभाका सभामुख ओम विडलालाई पत्र लेख्दै भाजपा सांसदले आफूलाई पनि धक्काको दिँदा घुँडामा चोट लागेको बताउनुभएको छ ।
यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले घाइते दुवै सांसदलाई भेट्नुभएको छ । आमआदमी पार्टीका संयोजक अरविन्द केजरीवालले सत्ता गठबन्धनमा आवद्ध आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडु र विहारका मुख्यमन्त्री नीतिश कुमारलाई गृहमन्त्रीको विवादास्पद अभिव्यक्तिप्रति प्रतिक्रिया दिन अपील गर्नुभएको छ । हंगामापछि दुवै सदन भोलिसम्मका लागि स्थगित भएको छ ।