काठमाडौं । इजरायलले यमनमा हुथी विद्रोहीलक्षित व्यापक हवाई आक्रमण गरेको छ । हुथी विद्रोहीले तेलअबिबमाथि क्षेप्यास्त्र प्रहार गरेको र त्यसको प्रतिकारमा आज बिहानै यमनमा हुथीका सैन्य केन्द्रहरुलाई लक्षित आक्रमण गरिएको इजरायलले जनाएको छ ।
हुथी विद्रोहीले आज बिहान करिब पौनै तीन बजे प्रहार गरेको क्षेप्यास्त्रलाई इजरायली रक्षा बलले आकाशमै ध्वस्त पारेको थियो । त्यसको प्रतिकारमा यमनको पश्चिमी तटीय क्षेत्र र भित्री भागमा आक्रमण गरिएको इजरायली सेनाले जनाएको छ । उता हुथी विद्रोहीसँग सम्बद्ध टेलिभिजन च्यानल अल मसिराहले इजरायली आक्रमणले राजधानी साना नजिकैको दुई वटा विद्युत उत्पादन केन्द्रका साथै होदेइदाह शहरस्थित रास इसा तेल प्रशोधन केन्द्र र बन्दरगाहमा क्षति पुगेको जनाएको छ । इजरायली आक्रमणका कारण राजधानी साना नजिकैको हजिज र दहबान पावर स्टेसनमा आगो लागेको बताइएको छ । दहबानको आगो निभाईए पनि हजिजको आगो निभाउने प्रयास जारी रहेको जनाइएको छ ।
यमनको राजधानी सना र रेडसीसँग जोडिएको देशको ठूलो भूभागमा हुथी विद्रोहीको नियन्त्रण रहँदै आएको छ । आडेन शहरस्थित अन्तरराष्ट्रिय मान्यता प्राप्त यमन सरकारको नेतृत्व भने राष्ट्रपति रशद अल अलिमीले गर्दै आउनुभएको छ ।
शिया इश्लामिष्ट समूह हुथी मुभमेन्टले २०१४ को सेप्टेम्बरमा राजधानी सना कब्जामा लिएयता यमनमा गृहयुद्ध सुरु भएको हो । हुथी विद्रोहीलाई इरानको समर्थन प्राप्त छ भने साउदी अरब र यसको गठबन्धनका देशले अमेरिकी सहयोगमा २०१५ देखि यमनमा हुथी विद्रोहीमाथि हवाई आक्रमण शुरु गरेको थियो । २०२३ को अक्टोबरमा इजरायलले गाजामा आक्रमण शुरु गरेयता प्यालेष्टिनीको समर्थनमा भन्दै हुथी विद्रोहीले इजरायली भूमिका साथै रेड सीमा इजरायलसम्बद्ध समुद्री जहाजमा आक्रमण गर्दै आएकोछ ।
यमन इजरायलदेखि करीब दुई हजार किलोमिटर दुरीमा पर्दछ भने यमनमाथि आक्रमणका लागि इजरायलले दर्जनौं लडाकु विमान, तेल रिफ्युलर र जासूसी विमानहरुको प्रयोग गरेको छ ।