काठमाडौं । सहकारी ठगीमा अनुसन्धान भइरहेका रवि लामिछाने प्रहरीको हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्नेलाई कारबाही गर्ने कास्की प्रहरीले जनाएको छ ।
अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नु पर्ने व्यवस्था र प्रचलित साइबर अपराधसम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने व्यक्तिलाई कारबाही गरिने कास्की प्रहरीले जनाएको हो ।
'सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नु पर्ने व्यवस्था र प्रचलित साइबर अपराधसम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने छ', प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गोपनियता कायम राख्नुपर्ने विषयमा संवेदनशिल रही सूचना र समाचार सम्प्रेषण गरी अनुसन्धान कार्यमा सहयोग गरिदिन पनि प्रहरीले अनुरोध गरेको छ ।