काठमाडौं । सन् २०२४ को ‘फिफा बेस्ट अवार्ड’ समारोह आज दोहामा आयोजना हुँदै छ । समारोहमा उत्कृष्ट पुरुष तथा महिला खेलाडी र प्रशिक्षक लगायतलाई पुरस्कार प्रदान गरिने छ ।
अवार्डको मनोनयनमा युरोपेली च्याम्पियन रियल मड्रिडका पुरुष खेलाडीहरूको दबदबा छ । मड्रिडका जुड बेलिङ्घम, ड्यानी कार्भाजल, केलियन एमबाप्पे, फेडेरिको भाल्भर्डे र भिनिसियस जुनियर मनोनयनमा छन् । यस्तै हालै सन्यास लिएका टोनी क्रुस पनि यस सूचीमा समावेश छन् ।
फिफा इन्टरकन्टिनेन्टल कप फाइनल अन्तर्गत बुधबार खेलिने रियल र मेक्सिकन टोली पाचुका विरुद्धको खेलअघि अवार्ड समारोह आयोजना हुनेछ । पुरुष अवार्डका लागि मनोनयनमा परेका इन्टर मायामीका लियोनल मेस्सी हाल युरोप बाहिर खेल्ने एक मात्र खेलाडी हुन् ।
महिला खेलाडीतर्फ बार्सिलोनाका सात खेलाडी सामेल छन् । पुरुष प्रशिक्षकमा कार्लो एन्सेलोटी (रियल मड्रिड), लियोनल स्कालोनी (अर्जेन्टिना), लुइस डे ला फुएन्टे (स्पेन), पेप ग्वार्डियोला (म्यानचेस्टर सिटी) र जाबी अलोन्सो (बायर लेभरकुसेन) मनोनयनमा छन् ।