काठमाडौं । हङकङ अन्डर नाइन्टिन टिमविरुद्धको एकदिवसीय सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ ।
नेपाली अन्डर-नाइन्टिन टोलीले पहिलो एकदिवसीय अभ्यास खेलमा हङकङविरुद्ध तीन विकेटको जित हात पारेको हो । यस जितसँगै नेपालले तीन खेलको शृंखलामा एक-शून्यको अग्रता लिएको छ । नेपालको जितमा सन्तोष यादवले अलराउन्ड प्रदर्शन गरे । मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो ।
सुरुवातमा ब्याटिङ गरेको हङकङले ४१ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १३ रनको सामान्य योगफल तयार पारेको थियो । हङकङका लागि कप्तान शिव माथुरले २० र प्रित मन्गुकियाले ११ रन बनाए । अब्दुल समादले ९८ बलमा पाँच चौकाको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे ।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि सन्तोष यादवले चार, दयानन्द मण्डलले दुई तथा अभिषेक तिवारी र सिब्रिन श्रेष्ठले समान एक विकेट लिए ।
जवाफमा १ सय १४ रनको सामान्य लक्ष्य पूरा गर्न नेपालले पनि संघर्ष गर्यो । नेपाली युवा टोलीले २६ ओभर ४ बलमा सात विकेट गुमाउँदै जित हासिल गरेको थियो । नेपालका लागि सिब्रिन श्रेष्ठले २३, सन्तोष यादवले १५ र कप्तान अभिषेक तिवारीले १० रन बनाए ।
दिलसद अली १८ रनमा अविजित रहे । हङकङका लागि ड्यानियल एम्पले चार विकेट लिए । दुई टोलीबीचको दोस्रो खेल बुधबार र तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।