रूपन्देही । गएको ६ दशकमा नेपालमा ५४ वटा गहुँका जात विकास गरिएको छ । त्यसमध्ये १३ वटा पुराना जातलाई सूचीबाट हटाइएको छ । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले यो बीचमा थप चार वटा जात अनुसन्धानपछि सिफारिसको चरणमा ल्याएको छ । तर पनि ती गहुँका जातबाट पर्याप्त आम्दानी लिन सकिएको छैन ।
पछिल्लो समय राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले तराईका लागि जिंक गहुँ १, जिंक गहुँ २ र बोर्लग २०२० तथा पहाडका लागि खुमल शक्ति, भेरीगंगा र हिमगंगा जातका गहुँ विकास गरेको छ । सिफारिस भएका जातमा जिंक र आइरनको मात्र बढी पाइने कृषि वैज्ञानिकहरूको दाबी छ । तीन वर्षअघि नै नयाँ जात सिफारिस गरिए पनि कृषि प्रसारमा तीनै तहका सरकारले खासै चासो नदिँदा किसानहरू माझ अझै लोकप्रिय हुन सकेको छैन् ।
किसानहरूले जातीय शुद्धता कायम नगरी पुरानै जातको बीऊ लगाउँदा खेतीमा उत्पादन कम र रोग किराले नोक्सान पुर्याइरहेको छ । नयाँ जात विकास गर्दा रोग, किरा र जलवायु परिवर्तनको असरलाई सहन सक्ने गरी विकास गरिएकोले रोग किराको संक्रमण दर कम छ । विकास गरिएका जातबाट प्रति हेक्टर साढे पाँच टनसम्म उत्पादन लिन सकिन्छ ।
२१ लाख ४४ हजार ५६८ मेट्रिक टन गहुँ उत्पादन हुने नेपालमा अझै पनि करिब चार लाख मेट्रिक टन गहुँ बाह्य मुलुकबाट आयात भइरहेको तथ्यांक छ । नयाँ जात किसानहरू माझ पुर्याउन सके तथा मलखाद र सिँचाइको उचित व्यवस्था भए गहुँमा आत्मनिर्भर हुन सकिने कृषि वैज्ञानिकहरूको दाबी छ ।
पछिल्लो समय उत्पादन र उत्पादकत्वसँगै खाद्य सुरक्षा, पोषण र जलवायु परिवर्तन सहन सक्ने जात विकास गरिएको छ । नयाँ जात किसान माझ पुर्याउन सके गहुँको परनिर्भरता हट्ने छ ।