नेपाल बैंकर्स संघको अध्यक्षमा कोइराला

पुस २, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल बैंकर्स संघको अध्यक्षमा कोइराला

काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको नयाँ अध्यक्ष सन्तोष कोइराला चयन हुनु भएको छ । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइराला यसअघि बैंकर्स संघका उपाध्यक्ष हुनु हुन्थ्यो ।

यही पुस ३ गते संघको ३८औं वार्षिक साधारण सभा हुँदै छ । साधारण सभाले अध्यक्ष र उपाध्यक्ष सहित तीन जना सदस्य चयन गर्नेछ । त्यसका लागि सोमबारसम्म मनोनयन दर्ताको समय थियो । अध्यक्षमा कोइराला र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उम्मेदवारी दिनु भएको थियो । तर, सोमबार बसेको संघका पूर्व अध्यक्षहरूको बैठकले सर्वसम्मत पदाधिकारी चयन गर्ने निर्णय गरेपछि शेरचनलाई उम्मेदवारी फिर्ता गर्न लगाइएको थियो । शेरचनको दाबेदारी फिर्ता भएपछि कोइराला सर्वसम्मत रूपमा अध्यक्ष चयन हुनु भएको हो ।

पछिल्लो १३ वर्षयता संघमा उपाध्यक्ष स्वतः अध्यक्ष बन्दै आएका छन् । तर, यसपटक भने दुई जनाको उम्मेदवारी परेको थियो ।

यस्तै, संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेम्मी चयन हुने हुनु भएको छ । खाली रहेको तीन जना कार्यसमिति सदस्यमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालीङ चुनिने हुनु भएको छ । खालिङ यसअघि पनि कार्यसमितिमा सदस्य हुनु हुन्थ्यो ।

यद्यपि नयाँ पदाधिकारी चयन भने पुस ३ मा बस्ने वार्षिक साधारण सभाबाट हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement