काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको सबै खेल सकिएको छ । आज भएको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेसँगै प्लेअफ खेल्ने चार वटै टोलीको पनि टुंगो लागिसकेको छ ।
एनपीएलको प्लेअफ अन्तर्गत पहिलो क्वालिफायर्समा लिग चरणका शीर्ष दुई टोली सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमनेसामने हुने छन् । सुदूरपश्चिम सात खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रह्यो । १० अंक बनाउँदै जनकपुर दोस्रो स्थानमा छ । जनकपुर र सुदूरपश्चिमबीचको ‘क्वालिफायर १’ बुधबार दिउँसो १ बजे हुनेछ ।
यो खेलको विजेता सीधै फाइनल प्रवेश गर्नेछ भने हार्ने टोलीले अझै एक मौका पाउनेछ । उसले ‘क्वालिफायर २’ मा बिहीबार दिउँसो १२ बजे चितवन राइनोज र कर्णाली याक्सबीचको विजेतासँग भिड्नेछ ।
चितवन र कर्णालीबीचको एलिमिनेटर खेल बुधबारै बिहान ९ बजे हुनेछ । अंक तालिकामा तेस्रो र चौथो स्थानमा रहेका यी दुई टोलीबीचको विजेताले क्वालिफायर २ मा प्रतिस्पर्धा गर्दै फाइनल पुग्ने अवसर पाउँदा पराजित टोली भने बाहिरिनेछ ।