काठमाडौं । क्यानडाकी अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले आफ्नो पदबाट राजीनामा दिनु भएको छ । उहाँले हिजो प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पत्र लेखेर राजीनामा दिएको घोषणा गर्नु भएको हो ।
सम्भावित अमेरिकी करलाई कसरी सम्हाल्ने भन्ने लगायतका मुद्दामा प्रधानमन्त्री ट्रुडोसँग विवाद बढेपछि अर्थमन्त्री फ्रिल्यान्डले राजीनामा दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले टिप्पणी गरेका छन् । अर्थमन्त्रीको राजीनामाले पहिलेदेखि नै अलोकप्रिय बन्दै आएको ट्रुडो सरकारलाई अप्रत्याशित धक्का पुर्याएको छ ।
फ्रिल्यान्डले क्यानडा र क्यानडेली जनताका लागि काम गर्न पाएकोमा सम्मानको विषय भएको प्रधानमन्त्रीलाई बुझाएको पत्रमा उल्लेख छ । गत शुक्रबार अर्थमन्त्री फ्रिल्यान्डलाई प्रधामन्त्री ट्रुडोले मन्त्रिपरिषद्मा अर्को पद प्रस्ताव गर्नु भएको थियो । प्रधानमन्त्रीको प्रस्तावपछि मन्त्रिपरिषद्बाटै राजीनामा दिनु नै आफ्ना लागि उपयुक्त देखेको उहाँको भनाइ छ ।
अमेरिकामा आगामी डोनाल्ड ट्रम्प प्रशासनले आक्रामक आर्थिक राष्ट्रवादको नीति अपनाइरहेका कारण २५ प्रतिशत ट्यारिफको धम्कीलाई गम्भीरताका साथ लिन आवश्यक रहेको समेत उहाँले प्रधानमन्त्री ट्रुडोलाई सचेत गराउनु भएको छ।
अर्थमन्त्रीको राजीनामापछि ट्रुडोले सार्वजनिक सुरक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनु भएका डोमिनिक लेब्लांकलाई नयाँ अर्थमन्त्री चयन गर्नु भएको रोयटर्सले जनाएको छ ।