एसीसी यू-१९ महिला एसिया कप : पाकिस्तानलाई हराउँदै नेपाल सुपर-४ मा

पुस १, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसीसी यू-१९ महिला एसिया कप : पाकिस्तानलाई हराउँदै नेपाल सुपर-४ मा

काठमाडौं । नेपाल अन्डर १९ महिला क्रिकेट टोली एक खेल अगावै एसीसी अन्डर-१९ महिला एसिया कप क्रिकेटको सुपर फोरमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा पाकिस्तानको अन्डर १९ टिमलाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर फोरमा स्थान सुरक्षित गरेको हो । 

नेपालको जितमा कप्तान पुजा महतोले सानदार अलराउन्ड प्रदर्शन गरिन् । नेपाली युवा टोलीले पाकिस्तानसँगको पहिलो भेटमै उसलाई स्तब्ध पारेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ रन जोडिन् । उनले ४४ बलमा २ चौका प्रहार गरेकी थिइन् । महम अनिसले २९ र रभेल फरहानले १३ रन जोडिन् । नेपालका लागि कप्तान पूजाले २ तथा रचना चौधरी, रिया शर्मा र सिमाना केसीले समान १-१ विकेट लिए ।

जवाफमा १ सय ५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा सान प्रविनले १०, सावित्री धामीले ८ र सोनी पाख्रीनले १३ रनको योगदान दिए । पूजा ४७ बलमा ३ चौका सहित सर्वाधिक रन ४७ जोड्दै अविजित रहिन् । सिमाना केसीले १२ रन बनाइन् । पाकिस्तानका लागी फातिमा खान र कुरातुलानले १-१ विकेट लिए ।

यससँगै पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो । एक खेल अगावै सुपर फोरमा प्रवेश गरेका नेपाल र भारतबीचको खेल भोलि हुने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement