एनपीएलमा कर्णाली याक्सको लगातार दोस्रो जित

मंसिर २२, २०८१ |खेल ब्युरो
एनपीएलमा कर्णाली याक्सको लगातार दोस्रो जित
तस्विर: चिरायु शाक्य

काठमाडौं । एनपीएलमा कर्णाली याक्सले लगातार दोस्रो जित दर्ता गरेको छ। कर्णालीले विराटनगर किंग्सलाई ७ रनले हराएको हो । विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङमा आएको कर्णालीले २० ओभरमा सम्पूर्ण विकेट गुमाएर एक सय ३३ रन बनायो । जवाफमा विराटनगरले ८ विकेट गुमाएर एक सय २६ रन मात्र बनाउन सक्यो ।

एनपीएलको आजको खेलमा कर्णालीले ओपनिङमा खास प्रदर्शन गर्न सकेन्। शिखर धवन पाँच रन बनाएर प्रतिस जिसीको बलमा बोल्ड भए। त्यसैगरी तेस्रो नम्बरका चाडविक वाल्टनले पनि एक रनको मात्रै योगदान गर्न सके। दुई विकेट गुमाउँदा कर्णालीले ९ रन मात्रै बनाएको थियो। यी विकेट क्रिस सोल र प्रतिस जीसीले हुन्।

त्यसपछि देव खनालले विलियम बोसिस्तोसँग मिलेर एक सय २ रनको साझेदारी गरे। १५ ओभर तीन बलमा देवलाई आउट गराएर बसिर अहमदले यो साझेदारी तोडेका थिए। देवले ४८ बलमा ५३ रनको योगदान गरे। त्यसैगरी, विलियमले पनि ६६ रन बनाए। बाँकी खेलाडीको दोहोरो अंकमा रन नै बनाउन सकेनन्। प्रतिश जिसीले कर्णालीको तल्लो क्रमलाई सहजै समाप्त पारे। उनले ४ ओभर बलिङ गर्दै १७ रन खर्चिएर चार विकेट आफ्नो नाममा गरे। क्रिस सोल र बसिरले समान दुई-दुई विकेट लिए।

जवाफमा विराटनगर किंग्सले पनि राम्रो सुरुआत गर्न सकेन। मार्टिन गप्टिल चार रनमा आउट भए। अकिब इलियास ८ र लोकेश बम १९ रनमा आउट भएपछि विराटनगरले ३४ रन बनाउादा नै तीन विकेट गुमाएको थियो। नरेन भट्ट पनि सात रनमा नै बाहिरिए। विराटनगरको दुई विकेट विपिन शर्माले लिए भने नन्दन यादवले तीन विकेट लिए। निकोलस किरटनले सबैभन्दा धेरै ४० रन बनाए।

सुरुवाती दुई खेल हारेको कर्णाली हिजो चितवन राइनोजमाथि ६ विकेटको जीत हात पार्दै लयमा फर्किएको छ। विराटनगरले चार खेलमध्ये एक खेल मात्र जितेको छ ।



Enter Kantipur TV HD
Advertisement