काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमने सामने हुँदै छन् । पोखरा आफ्नो तेस्रो र लुम्बिनी दोस्रो खेल खेल्दै छ ।
दुवै टिम पहिलो जितको खोजीमा छन् । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले चितवन राइनोज र जनकपुर बोल्ट्ससँग हार बेहोरेको थियो । चितवन विरुद्ध पोखरा सात रनमा ६ विकेट गुमाएको खराब स्थितिमा पुगेको थियो । ब्याटिङमा चल्न नसकेको पोखराले यदि आजको खेल पनि हारे शीर्ष चारको यात्रामा धक्का लाग्नेछ ।
पोखराका मुख्य ब्याटर भुर्तेल फर्ममा फर्कने विश्वास पोखराले लिएको छ । चितवनसँगको पहिलो खेलमा गोल्डेन डक भएका भुर्तेलले जनकपुरसँग ६ रन बनाएका थिए । आन्द्रियस गस, दिनेश खरेल, नारायण जोशी, म्याट क्रिच्ले, माइकल लिस्कको ब्याट चल्नु आवश्यक छ । बलिङमा सागर ढकाल, भुर्तेल आफैं, आकाश चन्द, लिस्क लगायत रहनेछन् । चितवनसँग ८७ रन र जनकपुरसँग सात विकेटले पराजित भएको पोखरा उत्कृष्ट पुनगरामन गर्ने लक्ष्यमा छ ।
लुम्बिनी लायन्स पनि अंकविहीन नै छ । लुम्बिनीले विराटनगर किंग्ससँग एनपीएलकै अहिलेसम्मको उच्च एक सय ९१ रनको योगफल बनाएको थियो । तर बलिङ र फिल्डिङमा गल्ती गर्दा जित रक्षा गर्न सकेन । सो खेलमा कप्तान रोहित पौडेलले ४६ रन प्रहार गरेका थिए । डेथ ओभरमा धेरै रन दिएको लुम्बिनीले फिल्डिङमा राम्रो गर्न सकेन । विवेक यादव ३.५ ओभरमा ६४ रन खर्चिएर सर्वाधिक महँगो बलर भएका थिए ।
पहिलो खेलमा गरेको गल्ती सच्याउँदै लयमा फर्कने रोहितको विश्वास छ । यो खेल दिउँसो एक बजे सुरू हुनेछ ।