एनपीएल : आजको पहिलो खेलमा अपराजित चितवन र जितविहीन कर्णाली भिड्दै

मंसिर २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
एनपीएल : आजको पहिलो खेलमा अपराजित चितवन र जितविहीन कर्णाली भिड्दै
तस्वीर : चिरायु शाक्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदै छन् । आजको पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज भिड्दै छन् ।

यो खेल भारतका शिखर धवन र पाकिस्तानका सोहेल तन्विरबीचको प्रतिस्पर्धा पनि हो । दुवै बायाँ हाते खेलाडीबीचको यो भिडन्त रोचक हुने अनुमान छ । यो खेल त्रिवि क्रिकेट मैदानमा बिहान नौ बजेबाट सुरू हुनेछ ।

चितवन एनपीएलमा अपराजित छ । दुई खेलबाट चार अंक जोडेको चितवन तालिकाको तेस्रो स्थानमा छ । यसअघि चितवनले काठमान्डु गुर्खाजलाई पाँच विकेट र पोखरा एभेन्जर्सलाई ८७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । एक सय ६२ रनको लक्ष्य पाएको पोखरालाई चितवनले ७४ रनमा अल आउट गरेको थियो ।

पेस बलर सोहेल तन्विरले चितवनका लागि पावर प्लेमा महत्त्वपूर्ण विकेट लिँदै आएका छन् । दुई खेलमा उनले आठ विकेट लिइसकेका छन् । उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीको पहिलो स्थानमा छन् । रिजन ढकालको नाममा पनि चार विकेट छ । दुवै बायाँ हाते बलर हुन् । कर्णालीका ब्याटरका लागि तन्विर र रिजन बाधक बन्न सक्छन् । कप्तान कुशल मल्ल, रवि बोपारा, शरद भेषावकर, सन्तोष कार्की, हसन इसाखिल, लुक बेन्केन्स्टाइन लगायतको साथ चितवनलाई छ ।

कर्णाली भने जितविहीन छ । दुवै खेल हारेको सोमपाल कामीको टिम कर्णाली एनपीएलमा पहिलो जितको खोजीमा छ । कर्णालीले ब्याटिङमा अपेक्षा अनुसारको प्रदर्शन गर्न सकिरहेको छैन । ओपनर देव खनाल चल्न नसक्नु कर्णालीको चिन्ताको विषय हो । विदेशी खेलाडी चाडविक वाल्टन, बाबर हायात, जिसान मक्सुद पनि लामो समय क्रिजमा टिक्न सकेका छैनन् । धवनले भने गुर्खाज विरुद्धको अघिल्लो खेलमा पूरै २० ओभर खेलेर अविजित ७२ रन प्रहार गरेका थिए ।

गुल्सन झा , अर्जुन घर्तीको प्रदर्शन कर्णालीका लागि महत्त्वपूर्ण हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement