मैदानमा दीपेन्द्र चम्किए, सुदूरपश्चिमलाई जिताए

मंसिर १८, २०८१ |सविना कार्की
मैदानमा दीपेन्द्र चम्किए, सुदूरपश्चिमलाई जिताए

काठमाडौं । दीपेन्द्रसिंह ऐरी टी-ट्वेन्टी क्रिकेटका परफेक्ट अलराउन्डर हुन् । उनै दीपेन्द्रले फेरि एक पटक शानदार प्रदर्शन गर्दै आफ्नो टिमलाई जित दिलाएका छन् । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले पराजित गर्दा दीपेन्द्रको बिस्फोटक ब्याटिङ महत्वपूर्ण बन्यो ।

एनपीएलको एक टिम सुदूरपश्चिम धेरै फ्यान हुनुको एउटा कारण दीपेन्द्रसिंह ऐरी पनि हुन् । सुदूरपश्चिममै जन्मिएका दीपेन्द्रले आफ्नै प्रदेशको प्रतिनिधित्व गरिरहेका छन् । सुदूरपश्चिमले अपेक्षा अनुसार नै एनपीएलमा सुरुवात गरेको छ । विराटनगर किंग्समाथि ९० रनको जित हात पार्दा दीपेन्द्रले कप्तानी इनिङस खेले ।

टीयुमा बिहानी समय टस हार्नु महँगो सावित हुन सक्ने अनुमान थियो । सुरुवातमा त्यस्तै पनि भयो । माथिल्लो क्रमका पाँच ब्याटर पवेलियन फर्किँदा स्कोर बोर्डमा मात्र ८९ रन थियो । तर समर्थकलाई के आशा थियो भने टाइगर दीपेन्द्र क्रिजमा आउन बाँकी नै छ । भयो पनि त्यस्तै । क्राउड फेभरेट दीपेन्द्रले माहोल फर्काए । उनको मैदान प्रवेशसँगै दर्शक दीर्घामा एकाएक रौनक छायो ।

टी-ट्वान्टी आईमा विश्व नम्बर दुई दीपेन्द्र टिमको आवश्यकता अनुसार नै आक्रामक रुपमा प्रस्तुत भए । उनले इशान पान्डेसँग मिलेर ४९ रनको साझेदारी गरे । सुदूरले पछिल्ला १० ओभरमा १ सय १४ रन जोड्यो । सुरुवातको ६ ओभरसम्म खेल विराटनगरको फेभरमा थियो । ब्रेन्डन मेक्मलेनले ३६ रन बनाएर बिराटनगरका बलरमाथि दबाब बनाए । दीपेन्द्रको आगमनसंगै मोमेन्टम सुदूरपश्चिमतर्फ सिफ्ट भयो ।

दीपेन्द्रले २३ बलमा अर्धशतक प्रहार गरे । जारी एनपीएलमा अहिलेसम्म अर्धशतक बनाउने दीपेन्द्र दोस्रो नेपाली र समग्रमा चौथो खेलाडी हुन् । उनले २४ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा अविजित ५७ रन जोडे । सातौ नम्बरमा क्रिजमा गएका दीपेन्द्रले समर्थकले सदैव आफूलाई प्रेरित गर्ने बताए ।

दीपेन्द्र एनपीएलका सर्वोत्कृष्ट खेलाडीका दाबेदार हुन् । बाँकी खेलमा पनि उनको प्रर्दशन टिमका लागि महत्वपूर्ण हुनेछ । दीपेन्द्रको टिमले बाँकी सात खेलमा पनि यही प्रदर्शनलाई कायमै राख्न सक्ला ? 


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement