लिभरपूलसँगको हारपछि सिटीका प्रशिक्षक ग्वार्डिवालाले किन देखाए ६ औंला ?

मंसिर १७, २०८१ |खेल ब्युरो
लिभरपूलसँगको हारपछि सिटीका प्रशिक्षक ग्वार्डिवालाले किन देखाए ६ औंला ?

काठमाडौं । जितमा होस्, हारमा या अन्य कुनै वेला विश्व फुटबलका प्रशिक्षकहरूले टच लाइनमा विभिन्न गतिविधि प्रस्तुत गरिरहेका हुन्छन् । उनीहरूले वेला वेला देखाउने व्यवहारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा निकै चर्चा पनि पाउँछ । टच लाइनमा प्रशिक्षकहरू प्रायः आफ्नो फ्रस्ट्रेसन पोख्छन् । कहिलेकाहिँ विपक्षी र समर्थकलाई पनि यहीँबाट सन्देश दिने गर्छन् । यति भन्दै गर्दा गए राति म्यान्चेस्टर सिटी र लिभरपूलबीचको खेल हेर्नु भएको भए तपाईंले बुझिसक्नु भयो । लिभरपूलसँग हार बेहोरेपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिवालाले हात उठाएर ६ औंला देखाएका थिए । तर किन ?

सिटीका लागि यो सिजन सुखद् भइरहेको छैन । एकपछि अर्को निराशाजनक प्रदर्शन भइरहेको छ । सिजनको सुरूआत उत्कृष्ट गरे पनि सोही लयलाई कायम गर्न नसक्दा साविक विजेता सिटी शीर्ष स्थानको लिभरपूलभन्दा ११ अंकले पछि परिसकेको छ । त्यसैले होला ग्वार्डिवाला प्रतिक्रियात्मक भएको । उनले गए राति खेलपछि सिटी फ्यानतर्फ फर्किएर मुस्कुराउँदै हात उठाएर ६ औंला देखाए ।

यसो गरेर उनले आलोचकहरूलाई आफू ६ पटक प्रिमियर लिग च्याम्पियन भएको सम्झाएका हुन् । उनको नेतृत्वमा सिटीले ६ पटक लिग उपाधि जितिसकेको छ ।

ग्वार्डिवालाले सन् २०१६ मा सिटीको नेतृत्व सम्हालेका हुन् । उनले सिटीलाई च्याम्पियन्स लिग, क्लब विश्वकप, एफए कप , लिग कप र युएफा सुपर कप पनि जिताएका छन् ।



Enter Kantipur TV HD
Advertisement