काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज ‘बक्सिङ डे’ मा ८ खेल हुँदै छन् । इतिहाद स्टेडियममा साँझ सवा ६ बजे सुरू हुने खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई स्वागत गर्दै छ ।
यसैबीच सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले क्लबले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान बनाउन नसक्ने खतरा रहेको बताएका छन् । सिटी अहिले युरोपेली फुटबलको सबैभन्दा प्रतिष्ठित क्लब प्रतियोगितामा लगातार १४औं सिजन खेलिरहेको छ । जुन सन् १९९८ र २०१७ को बीचमा आर्सनल र १९९६ र २०१४ को बीचमा म्यानचेस्टर युनाइटेडले मात्र इंग्लिस टोलीको रूपमा लगातार च्याम्पियन्स लिग खेलेका थिए ।
प्रिमियर लिगमा भने सिटी १७ खेलपछि सातौं स्थानमा छ । ऊ चौथोमा रहेको नटिङ्घम फरेस्टभन्दा चार अंक र पाँचौं स्थानको बर्नमथभन्दा एक अंकले पछाडि छ ।
डिफेन्डिङ च्याम्पियन सिटी निराशजनक लयमा छ । एभर्टन विरुद्धको घरेलु मैदानमा जित हात पार्दै सिटी लय समात्ने लक्ष्यमा हुनेछ । चोटका कारण पहिलो पहिलो रोजाइका ७ खेलाडी उपलब्ध नहुनु सिटीका लागि समस्याको विषय बनेको छ ।
एभर्टनले पनि यस सिजन खास प्रदर्शन गर्न सकेको छैन । पछिल्ला ५ खेलमा केवल १ खेल जितेको एभर्टनले १६ मध्ये ३ खेल मात्र जितेको छ । एभर्टन तालिकाको १५औं स्थानमा छ ।
दुई टोलीबीच खेलिएका अन्तिम ५ खेलमा सिटीले ४ खेल जितेको छ भने एक खेलमा दुवै टिमले बराबरी खेल्दै अंक बाँडेका छन् ।
आजै हुने अन्य खेलमा लिग लिडर लिभरपूलले लेस्टर सिटीको समना गर्दा चेल्सीले फुलहम, म्यान्टेस्टर युनाइटेडले वुल्भरह्यामटनसँग प्रतिस्पर्धा गर्ने छ । प्रिमियर लिगमा समग्रमा आज ८ खेल हुने छन् ।