काठमाडौं । नेपाल इन्टरनेसनल च्यालेन्ज ब्याडमिन्टन २०२४ मा नेपालले एक कांस्य पदक जितेको छ । आज भएको मिक्स डबल्स सेमिफाइनलमा पराजित भए पनि नेपालले कांस्य प्राप्त गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपालका प्रिन्स दाहाल र रसिला महर्जनको जोडी आज बिहान भएको खेलमा क्षितिज खनाल र शोभा गौचनलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा प्रवेश गरेका थिए । क्षितिज र शोभाविरुद्ध नेपाल नम्बर एक जोडीले प्रभावशाली प्रदर्शन गरेको थियो ।
पहिलो सेट २१-११ ले आफ्नो पक्षमा पारेका प्रिन्स र रसिलाले दोस्रो सेट २१-१२ ले जितेका थिए । नेपाल सेमिफाइनलमा भने प्रिन्स र रसिलाको जोडि थाइल्यान्डसँग २१-१५ र २१-१७ ले पराजित भयो । नेपालका खेलाडीले सर्भिस र डिफेन्मा धेरै गल्ती गरेपछि पराजित भएको हो ।
यससँगै च्यालेन्जमा नेपालको यात्रा समाप्त भएको हो । मेन्स र उमन्स सिङ्गलमा पनि नेपालको चुनौती पहिलो चरणबाटै समाप्त भइसकेको छ । उमन्स डबलअन्तर्गत आजै भएको खेलमा निता लम्साल र अनिमा राईको जोडी पनि पराजित भयो । यी खेलाडीलाई भारतीय खेलाडीले २१-७ र २१-११ को सेटमा हराएका हुन् । प्रतियोगिताको अन्तिम दिनका खेल भोलि हुनेछन् ।