कामका लागि म्यानमार पुगेका १४ जना नेपाली अलपत्र

पुस ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
कामका लागि म्यानमार पुगेका १४ जना नेपाली अलपत्र

काठमाडौं । कामका लागि म्यानमार पुगेका १४ जना नेपाली अलपत्र परेपछि नेपाली दूतावासले उद्दारको पहल थालेको छ ।

आन्तरिक द्वन्द्वमा फसेको म्यानमारमा नजान र गएकाहरुलाई पनि सावधान रहन नेपाल सरकारले एडभाइजरी समेत जारी गरिसकेको अवस्थामा १४ नेपाली सीमा क्षेत्रमा अलपत्र परेका हुन् ।

स्थानीय जातीय समूहको कब्जामा रहेको म्यावडी भन्ने ठाउँमा नेपालीहरु फसेको सूचना आएको र उद्दारका लागि अनुरोध गरिएको म्यानमारस्थित नेपाली दूतावासले जनाएको छ। केही समयअघि त्यस क्षेत्रमा स्थानीय विद्रोहीसँग म्यानमारको सेनाले आत्मसमर्पण गरेको थियो ।

अहिले त्यहाँ नेपालसहित अरु ३६ देशका नागरिक अलपत्र परेकाले उद्दारका लागि अरु देशसँग पनि समन्वय भइरहेको पनि नेपाली दुतावासले जनाएको छ । तर जातिय विद्रोही समूहलाई औपचारिक रुपमा पत्राचार गर्नसक्ने स्थिति नभएकाले गैरसरकारी संस्थाहरूको समेत सहयोग लिएर उद्दारको पहल गरिएको पनि नेपाली दूतावासले जानकारी दियो । म्यानबारबाट केही दिनअघि पाँच जना नेपालीको भने उद्दार भएर स्वदेश फर्किसकेका छन् ।

म्यानमारमा द्वन्द्व बढ्दै जाँदा पछिल्लो दुई वर्षमा त्यहाँ अलपत्र परेका कम्तिमा ९० जनालाई उद्दार गरेर नेपाल फर्काइसकिएको छ । तर अझै पनि नेपालीहरु म्यानमार जान छाडेका छैनन् । अधिकांश नेपाली भिजिट भिसामा थाइल्याण्ड पुगेर स्थलमार्गबाट म्यानमार जाने गरेका छन् ।

म्यानमार जाने नेपाली मध्ये अधिकांशलाई क्रिप्टोकरेन्सी कारोबार, साइबर ठगी, लगायतमा काम लगाउने र उनीहरुले काम गर्न नसक्ने भनेपछि कुटपिट समेत हुने गरेको गुनासो बढ्दो छ ।

नेपाल सरकारले म्यानमार, कम्बोडिया र लाओस लगायतका देशमा सकेसम्म नजान र गएकाहरुलाई सावधानी अपनाउन ट्राभल एडभाइजरी नै जारी गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement