काठमाडौं । इङलिस प्रिमियर लिगको उपाधि दौडमा लिभरपूलले चिर प्रतिद्धन्दी म्यानचेस्टर सिटीलाई पछि छोड्दै गएको छ । गए राति भएको खेलमा लिभरपूलले सिटी विरुद्ध २-० गोल अन्तरको जित हात पार्यो ।
एनफिल्डमा, ६० हजारभन्दा बढी समर्थकबीच घरेलु टोलीले सुरूआतमै गोलको अवसर सिर्जना गरेको थियो । भर्जिल भान डाइकको हेडर पोस्टमा लाग्दा पेप ग्वार्डिवालाले राहतको श्वास फेरे । तर १२औं मिनेटमै लिभरपूलले अग्रता लियो । मोहम्मद सालाहले ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको लामो पासलाई लिँदै कोडी गाक्पोलाई क्रस दिए । गाक्पोले कुल फिनिस गरेपछि सिटी १-० ले पछि परेको थियो ।
सिटीले, लिभरपूलको उत्कृष्ट अट्याक्लाई म्याच नै गर्न सकेन । भान डाइक र अलेक्जेन्डरले गोल थप्ने मौका गुमाउँदा सिटी भाग्यमानी सावित भयो । सालाहले एक्लो प्रयासमा अघि बढाएको बलले पनि पोस्टको दिशा लिन सकेन । ७८औं मिनेटमा लिभरपूलले पेनाल्टीको मौका पायो । सिटीका गोलकिपर स्टेफान ओर्टेगाले सालाहका स्ट्राइकिङ पार्टनर लुइस डियाजलाई फाउल गरेपछि आर्ने सल्टको टिमले पेनाल्टी पाएको थियो ।
सालाहले पेनाल्टीमा गोल गर्दै लिभरपूललाई महत्त्वपूर्ण खेलमा तीन अंक दिलाए । गत बुधबार च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २-० गोलले नै हराएको लिभरपूल पूरै खेल अवधिभर उत्कृष्ट देखिएको थियो । यो जितपछि तालिकाको शीर्ष स्थानमा रहेको लिभरपूलले सिटीसँग ११ अंकको अग्रता लिएको छ । उसको १३ खेलबाट ३४ अंक छ ।
सिटीले प्रिमियर लिगमा सन् २००८ पछि पहिलो पटक लगातार चार खेलमा हार बेहोरेको हो । अर्लिङ हालान्ड सम्मिलत सिटीले पछिल्ला सात खेलमा जित हात पार्न सकेको छैन । तालिकाको पाँचौ स्थानमा रहेको सिटीको २३ अंक छ ।