अन्डर-नाइन्टिन एसिया कप : नेपाललाई बंगलादेशले ५ विकेटले हरायो

मंसिर १६, २०८१ |खेल ब्युरो
अन्डर-नाइन्टिन एसिया कप : नेपाललाई बंगलादेशले ५ विकेटले हरायो

काठमाडौं । अन्डर-नाइन्टिन एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १ सय ४२ रनको सामान्य लक्ष्य बंगलादेशले २८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । बंगलादेशको जितका लागि जवाद अबरारले सर्वाधिक ५९ र कप्तान अजिजुल हमिकले नटआउट ५२ रनको अर्धसतकीय योगदान दिए । नेपालका लागि युवराज खत्रीले ४ विकेट लिए भने हेमन्त धामीले १ विकेट लिए ।

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा बंगलादेशले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा आएको नेपालले ४५ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ४१ रन मात्र बनाएको थियो ।

नेपालले ७ ओभरमै माथिल्लो क्रमका दुई ब्याटर गुमायो । यसअघि अर्धसतक बनाएका मयन यादव आज भने सस्तैमा पवेलियन फर्किए । उनी ४ रनमा साद इस्लामको बलमा आउट भएका हुन् । अर्जुन कुमाल आज पनि चलेनन् । उनले खाता खोल्नै सकेनन् । आफ्नो दोस्रो बलमा अर्जुन अल फादको बलमा आउट भएका थिए ।

नरेन भट्टले पनि चार रन मात्र जोड्न सके । नेपालका ब्याटर सन्तोष यादव ७, रोशन विश्वकर्मा २ र नरेश साउँद ४ रनमा बाहिरिएका थिए । छैटौं नम्बरका उत्तम मगरले २९ रन जोडेको भए पनि उनी ठूलो स्कोरमा पुग्न सकेनन् । उनले ६९ बलमा २९ रन बनाएका हुन् । नेपालका लागि पहिलो खेल खेलेका अभिषेक तिवारीले २९ रनको योगादान गरे । उनले तीन ब्रउन्ड्री प्रहार गरेका थिए ।

कप्तान हेमन्त धामी पनि क्याचआउट भए । नेपालविरुद्ध रिजन हुसेन सबैभन्दा बलिया बलर बने। उनले ६ ओभरमा ८ रन मात्रै खर्च गरेर दुई विकेट लिए । ९ ओभरमा २४ रन मात्रै दिएका इक्वाल हुसेनले पनि २ विकेट लिँदा अल फहदले पनि दुई विकेट आफ्नो नाममा गरे । नेपालविरुद्ध बंगलादेशका सबै बलरले उत्कृष्ट प्रदर्शन गरेका थिए । एक विकेट लिएका साद स्लामबाहेक सबैले चारभन्दा कम इकोनामीमा नेपाली ब्याटरलाई दबाबमा राखेका थिए ।



Enter Kantipur TV HD
Advertisement