एनपीएल क्रेज : दर्शकको उपस्थिति थेगिनसक्नु, रुख चढेर हेरे खेल

मंसिर १५, २०८१ |प्रदीप लेखी
एनपीएल क्रेज : दर्शकको उपस्थिति थेगिनसक्नु, रुख चढेर हेरे खेल

काठमाडौं । पछिल्लो समय नेपालमा क्रिकेटको क्रेज बढेको छ । अन्तर्राष्ट्रिय होस् या घरेलु प्रतियोगिता नै किन नहोस् क्रिकेट मैदानमा दर्शकको थेगिनसक्नु भीड हुन्छ । आज सुरु भएको एनपीएलको उद्घाटन खेलको टिकट खुला भएको २४ घन्टामै सोल्ड आउट भएको थियो । विराटनगर किङ्स र जनकपुर बोल्ट्स बीचको खेल हेर्न टीयु क्रिकेट मैदानमा हातमा टिकट लिएर पुगेका समर्थकलेसमेत प्रवेश पाएनन् ।

एनपीएलको उद्घाटन खेल हेर्न काठमाडौं उपत्यकाका मात्र होइन, देशका विभिन्न जिल्लाबाट टीयु क्रिकेट मैदानमा समर्थक आइपुगेका थिए । सवा १२ बजे सुरु हुने खेलका लागि तीन घन्टा अघिदेखि नै समर्थकको लाइन मैदानको बाहिर लागिसकेको थियो । विश्वको चर्चित फ्रेन्चाइज इन्डियन प्रिमियर लिग आइपीएलबाहेक अन्य देशको लिगमा पनि यस्तो लोभलाग्दो दृश्य देखिँदैन । एनपीएलको प्रतीक्षा गरिरहेका समर्थक रातभरीको यात्रा तय गर्दै काठमाडौं आइपुगेका थिए । टिकट लिएका दर्शकलाई नै व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो ।

एनपीएल हेर्न जति दर्शक मैदान भित्र थिए, त्यसको आधाजति दर्शक त मैदान बाहिरै थिए । कतिपय दर्शक टिकट नपाएर रुखमा चढेर पनि आफ्ना टिमको सर्मथनमा जुटे । उनीहरु भन्छन्- एनपीएलका अन्य खेलमा दर्शकको सुविधाका लागि क्यानले ध्यान देओस् ।

एनपीएल हेर्न आएका कतिपय दर्शकले आफ्नो टिमको समर्थनका लागि लोगो नै निधारमै बनाएका थिए । कतिपयले टिमको ब्यानर लिएर खेल हेर्न पुगे । तर धेरै दर्शक नेपालको झण्डा बोकेर मैदान प्रवेश गरेका थिए । यी सम्पूर्ण दृष्यले नेपाली क्रिकेट प्रेमीलाई पछिल्लो समय विश्वमै चिनाएको छ । जुन अन्य देशको फ्रेन्चाइजी लिगमा देख्न पाइँदैन ।

यो एनपीएलमा विश्वकै उत्कृष्ट खेलाडी न्युजिल्याण्डका मार्टिन गप्टिल, भारतका शिखर धमन, न्युजिल्याण्डका जिमि निसम, श्रीलंकाका लाहिरु मिलन्था जस्ता विदेशी खेलाडीको सहभागिताले दर्शकको मात्र होइन विश्वकै ध्यान तानेको छ ।

एनपीएलको पहिलो खेलमै जनकपुर बोल्टले जीत हात पार्दा जनकपुरका समर्थक निकै खुशी देखिए । खेल गुमाएका बिराटनर किंङ्सका समर्थक पनि आफ्नो टिमको खेलप्रति उत्साही नै थिए । उनीहरु आफ्नो टिमले अर्को खेलमा राम्रो खेल्ने विश्वासका साथ मैदानबाट बाहिरिए ।


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement