काठमाडौं । रुड भान निस्टलरोय प्रिमियर लिग क्लब लेस्टर सिटीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनी म्यान्चेस्टर युनाइटेडका पूर्व अन्तरिम प्रशिक्षक हुन् ।
लेस्टर सिटीले स्टीभ कूपरको स्थानमा नेदरल्यान्ड्सका निस्टलरोयलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । कूपरलाई लेस्टरले यसै साता बर्खास्त गरेको थियो । इंग्लिस टोलीका लागि केवल १२ खेलमा प्रशिक्षण गराएका कूपरको प्रशिक्षणमा टिमले खास प्रदर्शन गर्न नसकेपछि उनलाई जिम्मेवारीमुक्त गरिएको थियो । निस्टलरोय र इंग्लिस टोलीबीच २०२७ सम्मको सम्झैतामा हस्ताक्षर भएको बताइएको छ ।
रुबेन आमोरिमको आगमनअघि निस्टलरोयले दुई हप्ता म्यानचेस्टर युनाइटेडको अन्तरिम प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । निस्टलरोयले लेस्टर सिटीमा आबद्ध हुन पाउँदा गर्व लागेको बताएका छन् । निस्टलरोयले ३ डिसेम्बरमा घरेलु मैदानमा हुने वेस्टहम विरुद्धको खेलबाट जिम्मेवारी सम्हाल्ने छन् । प्रिमियर लिगको १६औं स्थानमा रहेको लेस्टरले आज राति ब्रेन्टफर्डसँग खेल्दै छ ।