नेपाली खेलाडीसँग क्रिकेट खेल्न उत्साहित छु : शिखर धवन

मंसिर १४, २०८१ |खेल ब्युरो
नेपाली खेलाडीसँग क्रिकेट खेल्न उत्साहित छु : शिखर धवन

काठमाडौं । शिखर धवन कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग खेल्न आज काठमाडौं आइपुगेका छन् ।

भारतीय पूर्वस्टार ओपनर शिखर धवनले नेपालमा पहिलो पटक भएको लिगमा खेल्ने अवसर पाएकोमा निकै उत्साहित भएको बताएका छन् ।

भोलिदेखि सुरु हुने एनपीएलका लागि आज नेपाल अवतरण गरेका धवनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा युवा खेलाडीलाई खेलकै समयमा सहयोग गर्ने बताएका हुन् । कर्णाली प्रदेशमा आधारित कर्णाली याक्स प्रतियोगिताकै सबैभन्दा ठूलो अनुबन्धको रुपमा शिखर धवनलाई भित्र्याएको हो।

धवनलाई कर्णाली याक्सले विमानस्थलमा बाजा गाजासहित स्वागत गरेको थियो । धवनका समर्थक पनि उल्लेख्य मात्रामा विमानस्थलमा पुगेका थिए। धवनका प्रशंसकले उनको खेल हेर्न आतुर रहेको बताएका छन् । 

ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णालीले विदेशी खेलाडीको रुपमा वेस्टइन्डिजबाट टेस्ट खेलिसकेका चाडविक वाल्टनलाई पनि अनुबन्ध गरिसकेको छ ।

मिस्टर आईसीसी र गब्बर उपनामले परिचित कर्णालीका बायाँहाते ओपनर धवनले भारतीय टोलीबाट सन् २०१३ को च्याम्पियन्स ट्रफी तथा सन् २०१६ र २०१८ को एसिया कप जितेका छन् । त्यसैगरी उनले सनराइजर्स हैदरावादबाट सन् २०१६ मा आईपीएलको उपाधि पनि जितेका छन् ।

आईपीएलमा दोस्रो सर्वाधिक रन स्कोर गरेका धवनले विश्वकै सबैभन्दा लोकप्रिय क्रिकेट लिगमा ६ हजार ७ सय ६९ रन प्रहार गरेका छन् । उनी आईपीएलमा सर्वाधिक चौका प्रहार गर्ने खेलाडी हुन् । कर्णाली र धवनबीचको सम्झौता रकम सार्वजनिक गरिएको छैन भने उनले कर्णालीका लागि कति खेल खेल्ने गोप्य राखिएको छ ।



Enter Kantipur TV HD
Advertisement